गोर्खा अनलाइन रेडियो यूके,

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद, इंग्ल्याण्डको आयोजनामा नेपाली नागरिकताको निरन्तरताका सम्वन्धमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली नागरिकताको निरन्तरता, पैत्रिक सम्पतिको सुरक्षा तथा अधिकार सम्बन्धि विषयमा छलफल गरिएको थियो । गैर आवासीय नेपाली संघले निकै महत्वकासाथ उठाउदै आईरहेको नागरिकता निरन्तरताको मुद्दामा नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरे अनुरुप अहिले त्यस सम्बन्धमा बन्न गइरहेको कानुनहरुलाई अन्तिम रुप दिने तयारी भइरहेको छ ।
अब बन्न लागेको कानूनमा गैर आवासीय नेपाली संघको हितमा रहने गरी के कस्ता प्रावधानहरु राख्न सकिन्छ भन्ने बारेमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा एनआरएन आईसीसी महासचिव एवं प्राध्यापक डा. हेमराज शर्मा, ब्यारिष्टर देवेन्द्र सिंह श्रेष्ठ, लेखक तथा अधिवक्ताद्वय सुरेन्द्र नेपाल श्रेष्ठ र गोविन्द बेलबासे र थर्क रानाले आफ्नो धारणा राखेका थिए ।
गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, सल्लाहकार विश्वआर्दश पण्डित, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, पूर्वअध्यक्षहरु, भूतपूर्व गोर्खाहरु, पत्रकार लगायत बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली नागरिकता प्राप्तिको ग्यारेन्टीका लागि संसदीय समितिमा रहेको नागरिकता सम्बन्धी विधेयकलाई तत्काल निष्कर्षमा लैजान सरकार समक्ष आग्रह गर्नुपर्ने लगायतका विभिन्न ८ वटा बुंदाहरु संकलन गरिएका छन् ।
सुझावहरु यसप्रकार छन्-
१. नेपालको संविधानको धारा १४ मा उल्लेख भए बमोजिम गैरआवासीय नेपालीहरुको नागरिकतासम्बन्धी व्यवस्थाले विदेशमा बस्ने नेपालीहरुको आवाजलाई पूर्ण रुपमा सम्वोधन नगरेको धारणा सहभागीहरुको छ । नेपालको संसदमा विचाराधिन रहेको नागरिकता ऐनमार्फत विदेशमा वस्ने नेपालीहरुले उठाउंदै आएको नागरिकता निरन्तरताको माग सम्बोधनका लागि आग्रह गरिन्छ ।
२. गैरआवासीय नेपाली ऐन सम्बन्धमा नेपालको नयां संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भई यससम्बन्धी ऐन बनिसकेकाले हालको गैरआवासीय नेपाली सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र त्यसअन्तर्गतका नियमावलीमा भएका कतिपय विषय अस्पष्ट र असान्दर्भिक रहेको सहभागीहरुको सुझाव रहेको छ । अस्पष्ट भएका र कतिपय प्रावधानले समस्या समेत थपेको हुंदा ऐनमा संशोधन भन्दा पनि पुनर्लेखनका लागि नेपाल सरकार समक्ष सुझाव पेश गरिन्छ ।
३. गैरआवासीय नेपाली नागरिकता प्राप्तिको ग्यारेन्टीका लागि संसदीय समितिमा रहेको नागरिकता सम्बन्धी विधेयकलाई तत्काल निष्कर्षमा लैजान नेपाल सरकार समक्ष आग्रह गरिन्छ ।
४. भूपू गोर्खा लगायत नेपालीमूलका विदेशी नागरिकले नेपालमा सम्पत्ति खरिद गर्दा र बेचबिखन गर्दा हुने सरकारी झञ्झटलाई सरलीकरण गर्दै नेपालमा आफ्नो नामको चल अचल सम्पत्तिमा हक नगुम्ने र नेपाली नागरिक सरहको स्वामित्व एवं भोगाधिकार लगायतका पूर्ण अधिकार रहने गरी कानुन निमार्ण गर्न यो भेला सम्बन्धित निकाय समक्ष आग्रह गर्दछ ।
५. विदेशमा रहेका नेपालीमुलका विदेशी नागरिकको विदेशमा निधन भएमा उनीहरुको नेपालमा रहेको पैत्रिक सम्पत्ति, अंश, अपुताली, दान एवं बकसबाट प्राप्त सम्पति नेपाली नागरिक सरह भोगचलन गर्न र निजको नेपालमा सम्पति भएमा त्यस्तो सम्पति निजको हकवाला गैरआवासीय नेपाली नागरिकले नेपालमा रहेको सम्पतिसम्बन्धी प्रचलित कानुन बमोजिम विदेशमा ल्याउन पाउने व्यवस्था गर्न आग्रह गरिन्छ ।
६. नेपालमा गैरआवासीय नेपालीहरुको लगानीबाट प्राप्त मुनाफा र त्यसको प्रतिफल फिर्ता लैजाने सम्बन्धमा प्रचलित नेपाली कानुनअनुसार फिर्ता लैजान पाउने व्यवस्था ऐनमा भएको व्यवस्थालाई अझ पारदर्शी र सहज बनाउन आग्रह गरिन्छ ।
७. विदेशमा रहेका तर विदेशी नागरिकता प्राप्त नगरिसकेका गैरआवासीय नेपालीहरुका लागि विदेशबाटै नेपालमा मताधिकारको व्यवस्थाको लागि कानुनी प्रबन्धको लागि आग्रह गरिन्छ ।
८. गैरआवासीय नेपालीहरुसंग सम्बन्धी नागरिकता, मुलुकी संहिता, राहादानी, राष्ट्रिय परिचयपत्र लगायतका ऐनहरु समयनाकुल संशोधन गर्दै आवश्यक परिवर्तनका लागि पहल गर्न नेपालको संघीय संसदको ध्यानार्कषण गरिन्छ ।
गैरआवासीय नेपाली संघ बेलायत
तथा गैरआवासीय नेपाली संघ बेलायत,
इंल्याण्ड राज्य परिषद
बाँकी फोटोको लागि यहाँ क्लिक गर्नुहोला
सुझाव संकलन विशेष समिति
चिरन शर्मा
यादव श्रेष्ठ
नरेन्द्र बस्नेत
ध्रुवराज अर्याल
पूर्ण गुरुङ
केशव भण्डारी





