गोर्खा अनलाइन रेडियो
लन्डन । ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न नेपाली दूतावास लण्डनले विशेष कार्यक्रम आयोजना गरेको छ । पहिलोपटक स्थानीय बाँसुरीबादकहरुद्वारा बाँसुरी धुनको माध्यमबाट नेपाली राष्ट्रिय गानको सुरुवातसंगै नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरिएको हो । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित गत बुधबार रंगशालामा विशाल कार्यक्रम गरेको तीन दिनपछि शनिबार दिउँसो नेपाली दूतावास लन्डनले उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत एवं भ्रमण वर्ष उच्चस्तरीय मूल समिति बेलायतका अध्यक्ष डा दुर्गा बहादुर सुवेदीले बेलायतबाट कम्तीमा १ लाख पर्यटक नेपाल पठाउने आफ्नो योजना सफल बनाउन सबैमा आग्रह गरेका छन् । राजदूत डा. सुवेदीले बेलायतको चारैवटा राज्य र आयरल्याण्डमा समेत पर्यटन प्रबर्धन सम्बन्धि विभिन्न कार्यक्रम गरिने र भिजा तथा पासपोर्ट सम्बन्धि कामको लागि घुम्ती सेवालाई अझ बढी सरल र प्रभावकारी बनाइने बताएका छन् ।
नेपाल भ्रमणमा जानेहरुको सुविधालाई मध्यनजर गर्दै दूतावासको प्रशासनिक क्षेत्रमा सुधार गर्दै ‘एकै दिन एकै छिन’ को व्यबस्था लागू गर्दै भीसा लगायतका सम्पूर्ण कार्यहरु एकैदिनमा मात्र नभई एकै छिनमा गर्ने प्रतिवद्धता समेत राजदूत सुवेदीले गरेका छन् । दूतावासका कारण कसैलाई पनि समस्या नपरोस भन्ने उद्देश्यले बिदाको दिनमा समेत काम गर्न दूतावास तयार रहेको बताएका छन् ।
सन् २०१८ मा ६३ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेकामा सन् २०१९ मा करिब ६५ हजार बेलायती पर्यटक नेपाल घुम्न गएको तथ्यांक छ । सन् २०२० मा यो संख्या बढाएर १ लाख पुर्याउने दूतावासको सपना साकार गर्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गरे यो संख्या तेब्बर हुने पनि राजदूत सुवेदीले बताएका छन् । आउदो मे महिनामा पहिलोपटक बेलायतमा हुन लागेको नेपाली राष्ट्रिय फुटबल टोलीको खेल तथा अगस्टमा लण्डनको लर्डस् मैदानमा हुने नेपाली तेस्रो पटकको राष्ट्रिय क्रिकेट टोलीको खेललाई पनि नेपाल भ्रमण वर्षको प्रबर्धनका रुपमा लिन सबैमा अनिरोध गरिएको छ ।
भ्रमण वर्ष सफल पार्न दूतावासको संयोजनमा गतवर्ष १९ जनवरीमा उच्चस्तरीय मूल समिति गठन गरिसकिएको छ । तेस्तै गरि सोहि मूल समिति अन्तर्गत यहाँका स्थानीय नेपाली समुदाय अन्तर्गतका विभिन्न क्षेत्र, भूगोल,पेशा, जाति आदिलाई समेटेर ११ अप्रिल २०१९ मा २२ वटा समितिहरुको समेत गठन गरेको थियो ।
नेपाल भ्रमण वर्षलाई सफल पार्न गठित कमिटीहरुले गरेका क्रियाकलापहरु र भावी योजनाहरुको बारेमा सबैले आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए । पर्यटन क्षेत्रलाइ मात्र नभएर कला-संस्कृति, भाषा, भेषभूषा, नाटक संगीत, चलचित्र, तथा नेपाली खानालाई समेत प्रवर्धन गर्न दूतावासले जोड दिंदै आएको छ ।
नेपाल भ्रमण वर्ष उच्चस्तरीय मूल समिति बेलायतका सदस्य सचिव तथा लन्डन दूतावासका प्रवक्ता शरदराज आरनले दूतावासद्वारा गठित उच्चस्तरीय मूल समिति तथा सो समिति अन्तर्गतका कमिटिको बारेमा प्रकाश पारेका थिए । आफू सपरिवार र विदेशी साथि सहित नेपाल भ्रमणमा जाऔं र नेपाल भ्रमण वर्षलाई सफल पारौं भन्ने अभियानमा सबैलाई लाग्न आग्रह गरेका थिए ।
भ्रमण वर्षको प्रचार प्रसारको लागि लन्डनको विभिन्न रुटमा चल्ने बसहरुको प्रयोग गरिएको पनि आरंले बताएका थिए । समितिहरुलाई दूतावासको समन्वयमा आ-आफ्नै ढंगले कार्यक्रम तथा योजना तर्जुमा गर्ने आवश्यकता अनुसार दूतावासले आवश्यक सहयोग गर्ने बताएका छन् ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित महासचिव डा हेम राज शर्मा र गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय उप-संयोजक कृष्ण तिमल्सेनालाई राजदूत सुवेदीद्वारा सम्मान समेत गरिएको थियो । कार्यक्रममा स्थानीय बाँसुरीबादकहरुद्वारा विभिन्न खालका बाँसुरी धुन प्रस्तुत गरिएको थियो ।
फोटोको लागि यहाँ क्लिक गर्नुहोला





