नरेन्द्र बस्नेत
लन्डन । सन् २०१९ लन्डनका लागि दशककै सबैभन्दा बढि हत्या हिंसाको वर्षको रुपमा सावित भएको छ । अनाहकमा कयौं निर्दोष युवाले ज्यान गुमाएका छन् । गतवर्ष सन् २०१८ मा १३६ जनाको हत्या भएकामा सन् २०१९ मा उक्त संख्या बढेर १४९ पुगेको छ । लन्डनमा भएका अधिकांश
घट्नामध्ये ६० प्रतिशत हत्या चक्कु प्रहारद्वारा भएको छ । त्यस्तै ११ जनाको गोलीले, २५ जनाको मृत्यु आपसी झगडा तथा टाउकोमा चोटका कारण भएको छ ।
यसरी हत्या बढ्नुको मुख्य कारण मध्यम वर्गीय युवामा लागू पदार्थको बढ्दो सेवन भएको महानगरीय प्रहरी आयुक्त क्रेसिडा डिकले बताएकी छन् । डेली मेलले जनाए अनुसार सन् २००२ मा सबैभन्दा बढि २२१ जनाको हत्या भएको थियो भने त्यसपछिका वर्षहरुमा यो क्रम घट्दै सन् २०१४ मा सबैभन्दा कम ९४ जना मात्र मारिएका रेकर्ड गरिएको थियो ।
सन् २०१० यता झण्डै २० हजार प्रहरी अधिकृत कटौती गरिंदा हत्या श्रृंखला बढेको धेरैको विश्लेषण छ । तर, सरकारले बढ्दो अपराध नियन्त्रणका लागि कटौती गरिए जति नै संख्या थप्ने र अपराधीहरुलाई जेल सजाय थप कठोर बनाउने रणनीति अघि सारेको छ । गृहमन्त्री प्रीति पटेलले युवाहरुलाई ग्यांग कल्चरतर्फ निरुत्साहित गर्न ३५ मिलियन पाउण्ड खर्च गरिने घोषणा गरेकी छन् ।
बेलायतका अति संवेदनशील १८ स्थानका लागि अपराध न्यूनीकरण इकाइले उक्त अतिरिक्त रकम खर्च गर्ने जनाइएको छ ।
सन् २०१९ मा पनि आतंकवादले ब्रिटेनलाई छाडेन । डिसेम्बर पहिलो साता लन्डन ब्रीजमा एक आतंककारीले दुईजनाको हत्या गर्यो । पछि प्रहरीले उक्त व्यक्ति उस्मान खानलाई तत्काल मारिदिएको थियो । खान सन् २०१२ मा आतंकवादी क्रियाकलापमा संलग्न भएको भनि दोषी ठहरिएका थिए ।
हत्या र हिंसाको घट्ना पछिल्लो समयमा विश्वमा नै बढ्दै गइरहेको छ । अमेरिका पनि सन् २०१९ मा अहिलेसम्मकै सबैभन्दा धेरै आम नरसंहार वर्ष बन्न पुगेको छ । असोसिएटेड प्रेस, यूएसए टुडे र
नर्थइस्टर्न विश्वविद्यालयद्वारा संकलित तथ्यांक अनुसार सन् २०१९ मा ४१ वटा हत्याकाण्ड भएका छन् । जस अन्तर्गत ४१ वटा घट्नामध्ये ३३ वटामा बन्दुक प्रयोग गरिएको थियो । यसघि सन् २००६ मा ३८ वटा त्यस्ता आमहत्या भएका थिए । हत्या गर्ने व्यक्ति बाहेक चार वा सो भन्दा बढीको हत्यालाई आमहत्याको रुपमा लिने गरिन्छ ।
साभार राटोपाटी





