गोर्खा अनलाइन रेडियो लन्डन,

आगामी ८ मार्च २०२०, आइतबारका दिन एनआरएनए यूके महिला फोरमले ‘अन्तर्राष्ट्रिय महिला दिवस’ सेमिनारसहित भव्य रुपमा मनाउने भएको छ । कार्यक्रम लण्डनमै हुने पक्का भए पनि कार्यक्रमस्थलको भने तय भइनसकेको एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेलले जनाइन् ।
विभागकी संयोजक कंडेलका अनुसार, ‘इन्टरनेशनल सेमिनार अन वुमन एजुकेशन एण्ड इम्पावरमेन्ट’ शीर्षकमा हुने उक्त सेमिनारमा सहभागी हुन सबै संघ-संस्थालाई पत्राचार गरिने छ । ‘सम्भव भए त्यसदिन अन्य कुनै कार्यक्रम नराखी हामीलाई सहयोग गरिदिनु हुन सबैमा हार्दिक अनुरोध छ’- कंडेलले अपिल गरेकी छन् ।
सेमिनारमा महिला सशक्तिकरण, शिक्षा र उनीहरुलाई अवसर आदि मुद्दाबारे छलफल गरिने जनाइएको छ । यसैबीच, एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेलले संघको विधानमा रहेर विभाग विस्तार गरेकी हुन् । ७ सदस्यीय महिला फोरममा लारा राई, दुर्गा गुरुङ, डा. सारा रावल, सुस्मिता थापा, कल्पना गुरुङ र प्रियंका आचार्य छन् ।
११ सदस्यसम्मको समिति बनाउन सक्ने अधिकार भएपनि अहिले सात जनामात्र समितिमा राखिएको र आवश्यक भए भविष्यमा थप्न सकिने कंडेलले जनाइन् । त्यसैगरि समितिमा तीनजना सल्लाहकारहरु डा. पुनम यादव, डा. बिभा सिम्खडा र श्रीमति टुका स्यान्डवेललाई पनि राखिएको छ ।
‘हामी एक्सन ओरिएन्टेड भएर काम गर्ने हुंदा मैले नितान्तरुपमा आफ्नै विवेकले समिति विस्तार गरेकी हुं’- उनले प्रष्टयाइन् । समितिको कार्यकाल दुईवर्षको रहनेछ । नर्सिङ एसोसिएसन ‘लिड’ गरेर देखाइसकेकी प्रसुनाले एनआरएनए यूकेमा पनि प्रभावकारी काम गर्ने अपेक्षा धेरैको छ।





