गोर्खा अनलाइन रेडियो,लन्डन
नेप्लिज सेफ एशोसिएसन यूकेले अंग्रेजी नयां वर्षको अवसर पारेर नयां वर्ष २०२० को शुभकामना कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आगामी ६ जनवरी सोमबार लन्डनको इष्टकोट स्थित भेन्यू फाइभ रेष्टुरेन्टमा हुन गइरहेको उक्त कार्यक्रमलाई पारिवारिक जमघट सहित विभिन्न आकर्षक नेपाली परिकारहरुको साथमा मनाइने योजना रहेको कार्यक्रम संयोजक एनआरएनए युके इङ्ल्यान्ड राज्यसमितिका सदस्य एवं नेप्लिज सेफ एसोसिएसन युकेका उपाध्यक्ष मोहन ओलीले जानकारी दिएका छन् ।
स्वदेश तथा विदेशमा समेत लोकप्रिय रहेको इन्द्रेणी कार्यक्रमका कलाकारको पनि उपस्थिति रहनेछ । गायक भीम पौडेल, गायिका खीम रोका मगर र सिर्जु अधिकारीको आकर्षक प्रस्तुति रहने आयोजकले बताएका छन् ।
लोक दोहोरीको आनन्द, नेपाली परिकारहरुको स्वादका साथै एक आपसमा रमाइलो भेटघाट गर्दै नयां वर्षको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको नेप्लीज सेफ एशोसिएसनका अध्यक्ष दधी आचार्यले बताएका छन् ।
सांझ ५ बजेदेखि राती १० बजेसम्म संचालन हुने उक्त कार्यक्रममा आयोजकहरुले सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् । ।





