गोर्खा अनलाइन रेडियो,
लन्डन । बेलायतस्थित नेपाली व्यवसायीहरुद्वारा संचालित ए स्टार फाइनान्सियल सोलुसन यूकेले आफ्नो स्थापनाकालको ८औँ वसन्त पूरा गरेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरेको छ । सोमबार सांझ साउथ ह्यारो स्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित सो कार्यक्रममा कम्पनीद्वारा केक काटेर खुसियाली मनाउनुका साथै क्रिसमस तथा अंग्रेजी नयां वर्षको शुभकामना आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा बेलायतका प्रतिष्ठित व्यक्तित्वहरु, उपमेयर, काउन्सिलर समाजसेवी, व्यापारी, सोलिसिटर, एकाउन्टेन्ट तथा संचारकर्मी लगायत विभिन्न पेशामा आबद्ध व्यक्ति लगायतको बाक्लो उपस्थिति रहेको थियो । नेपाली मूलका पहिलो इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर ए स्टारका प्रबन्ध निर्देशक मीन दर्लामीले क्रिसमस तथा नयां वर्षको शुभकामना दिएका थिए ।
सोहि क्रममा दर्लामीले कम्पनीको स्थापनाकालदेखी पुर्याउदै आएका विभिन्न सेवा तथा सुविधाहरुको बारेमा प्रष्ट परेका थिए । कार्यक्रममा बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङ, काउन्सिलर बिष्णु गुरुङ, मगर संघ यूकेका अध्यक्ष सुनिल राना, गोमा राना, तमु धींका सुबास सिंह गुरुङ, शिबजी श्रेष्ठ, सोलीसिटर राजु थापा, योग फगामी लगायतका व्यक्तिहरुले पनि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा लक्ष्मी राई (लारा) ले आफूले संचालन गरेको कल्याणकारी संस्था जुनकिरीबारेमा प्रस्तुत गरेकी थिइन् । ओजेश श्रेष्ठद्वारा प्रदान गरिएको सयुक्त श्रेष्ठको भैरवको आकृती रहेको काष्ठकलालाई एसएनपी प्लसका समिरनाथ प्याकुरेलले अंक्सन मार्फत च्यारिटी रकम संकलन गरेका थिए । ए स्टारसंग सम्बद्ध ग्रीन भ्यू कोर्ट र स्ट्राबेरी स्टार समूहले पनि आ-आफ्नो प्रस्तुति राखेका थिए ।
गायक प्रमोद शर्माले विभिन्न प्रकारका मनोरन्जनात्मक सांगीतिक सौगात पस्किएर रमाइलो गराएका थिए ।





