गोर्खा नालाइन रेडियो लन्डन,
तनहु जिल्लाको घलेचापमा सन् १९२१ को २० नोभेम्बर मा जन्मेका शेरबहादुर थापा (क्षेत्री) ले कलिलो उमेरमा नै युद्धमा वीर गति प्राप्त गर्नेलाई प्रदान गरिने सर्वोच्च पदक भिक्टोरिया क्रस प्राप्त गरेका थिए । पिता रामधोज थापाका सुपुत्र शेर बहादुर थापा सन् १९४१ मा ब्रिटिश भारतीय सेनामा भर्ति भएका थिए । राइफलम्यान थापाले ९औं गोर्खा राइफल्सको पहिलो बटालियन अन्तर्गत सन् १९४२ देखि १९४४ सम्म सेवा गरेका थिए ।
द्वितीय विश्व युद्धका अवसरमा सन् १९४४ मा इटालीको सान मारिनोमा भएको युद्धमा थापाले वीरगति प्राप्त गरेका थिए । सोहि युद्धमा देखाएको बहादुरीका कारण उनलाई भिक्टोरिया क्रस जस्तो सर्वोच्च पदबाट सम्मान गरिएको थियो । उनले २२ वर्षको उमेरमा भिक्टोरिया क्रस प्राप्त गरेका हुन् । उनले प्राप्त गरेको भिक्टोरिया क्रस हाल भारतमा रहेको जानकारीमा आएको छ ।
द्वितीय विश्व युद्धमा विभिन्न चमत्कारी काम देखाउने, युद्धमा लड्ने सेनाका जवान भारतीय गोर्खा नेपाली सेनालाई ब्रिटेनको सवोर्च्च सम्मान ‘भिक्टोरिया क्रस’ प्रदान गरिएको थियो । उक्त सम्मान पाउनेहरूमा सु. लालबहादुर थापा, हवल्दार गजे घले, सिपाही गञ्जु लामा, नायक अगमसिंह राई, सु. नेत्रबहादुर थापा –क्षेत्री, सिपाही कमानसिं गुरुङ, सिपाही भानुभक्त गुरुङ, सिपाही कर्णबहादुर थापा, सिपाही लक्ष्मण गुरुङ, सिपाही तुलबहादुर पुन, सिपाही शेरबहादुर थापा -क्षेत्री, सु. रामबहादुर राई थिए ।
यसरी नै आफ्नो बहादुरीको पहिचान देखाउने भारतीय गोर्खा पल्टनका नेपाली सैनिकलाई एम.बी.इ., एम.सी., ओ.बी.आई, सिर्ं.इ. तथा अन्य तक्मा तथा सम्मानमार्फत सम्मान प्रदान गरियो। विश्व युद्धका विभिन्न मोर्चामा नेपाली सेनाले अंग्रेज सरकारलाई मद्दत गरेको र त्यसमा बहादुरी देखाएको थियो ।
(अन्य विस्तृत जानकारी एवं अमूल्य सल्लाह र सुझाव भएमा हार्दिक स्वागत छ, gurkharadio@gmail.com )





