काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विशेष दूत भारत पठाउने हल्ला मात्र भएको बताएका छन्। मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले यस्तो बताएका हुन्।
‘विशेष दूतको बारेमा मैले पनि मिडियाबाटै थाहा पाएँ, सरकारले भोलि पठाउन सक्ला तर अहिले यसबारेमा कुरा भएको छैन’, उनले भने,‘यो कुरा मिडियाबाटै बाहिर आयो र मिडियाबाटै सकियो।’
सीमा विावाद समाधानको विषयमा नेपाल आफूले सकेसम्म कोसिस गरिरहेको बताए। भारतर्फ विवादित क्षेत्रको पहिचानको काम तत्काल सुरु भइसकेको र चीनतर्फ समय अनुकुल भएपछि गरिने उनले प्रष्ट पारे।
‘केहीकेही ठाउँमा नदीले धार फेर्दै जाँदा समस्या उत्पन्न भएको छ’, मन्त्री बास्कोटाले भने,‘राष्ट्रिय अन्तर्राष्टिय मापदण्डअनुसार काम गर्दै जानुपर्छ, सबैभन्दा पहिले विवादित ठाउँको काम गर्नुपर्छ।’
नेपालले इतिहासमै पहिलोपटक कुटनीतिक नोट भारतलाई पठाएको समेत उनले जानकारी दिए। ‘यसलाई नेपालको फस्ट स्टेप मान्नुपर्छ, भारतीय पक्षलाई सत्यका आधारमा तथ्य प्रमाणित गर्न दिनुपर्छ’, मन्त्री बास्कोटाले भने।
अन्नपूर्ण पोष्ट





