गोर्खा अनलाइन रेडियो लन्डन, प्रदर्शनिस्थलका फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला ,
लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका नेपाली भूमी भारतले आफ्नो नक्सामा समेटेको कारण बेलायतवासी नेपालीहरुले लण्डनमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नेतृत्वमा बेलायतस्थित नेपालीहरुको समुदायले भारतीय दूतावास लन्डन अगाडी आज सोमबार दिउँसो भारत विरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भूभागमा भएको भारतीय ज्यादतीको विरोध गर्दै ब्याक अफ इन्डिया, भारतीय हस्तक्षप बन्द गर् लगायतका प्लेडकार्ड बोकेर नारा लगाएका थिए । विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत मिडल्याण्डवासीको समेत सहभागिता रहेको उक्त कार्यक्रममा बेलायातवासीहरुको उपस्थिति भने सोचे अनुरुप रहन सकेन
। हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सा सच्याउनुपर्ने, कालापानीबाट भारतीय सेना तत्काल हटाउनुपर्नेलगायतका माग राखेर सोमबार प्रदर्शन गरिएको थियो । प्रदर्शनीपछि बेलायतवासी नेपाली समुदायको तर्फबाट गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा हस्ताक्षरित विरोधपत्र भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पुर्याउने योजना रहेको थियो ।
अध्यक्ष पुनम गुरुंगद्वारा विरोध पत्र बुझाउनको लागि अनुरोध गरिएको भएतापनि सम्बन्धित पक्ष तयारि नभएकोले विधुतीय माध्यमद्वारा उक्त पत्र पठाउने महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । पत्रमा भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा अन्तराष्ट्रिय मान्यताको समेत उल्लंघन गरेको स्मरण गराउँदै दुवै देशबीचको वार्तामार्फत् सीमा सम्बन्धी विवाद तत्काल समाधान गर्न आग्रह गरिएको छ।
विरोधपत्रमा भारतले जारी गरेको नयाँ नक्सा तत्काल सच्चाउन माग गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग समेटिएका कारण संसारभरिका नेपालीहरुले विरोध प्रदर्शन गर्दै आएकाछन् ।





