गोर्खा अनलाइन रेडियो लन्डन,
मित्रराष्ट्र भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भूभाग आफ्नो नक्सामा एकतर्फी राखेर सार्वजनिक गरेको कारण एनआरएन यूकेको आयोजनामा आज लन्डनमा शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम गरिंदैछ । निश्चित समयमा उपस्थित भइ शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै लण्डनस्थित भारतीय दूतावासमा विरोध पत्र बुझाउने सम्बन्धमा स्थानीय प्रहरी प्रशासनबाट अनुमति प्राप्त भैसकेको एनआएएन यूकेका महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन् ।
कार्यक्रम अनुशाशित र मर्यादित ढंगले संचालन हुने भएकोले नारावाजी, होहल्ला र उत्तेजना लाई निषेध गरिएको छ । हालै लण्डनमा घटेको घटनाका कारण लन्डनको सुरक्षा व्यवस्थामा कडाई गरिएको हुँदा प्रहरी प्रशासनले तोकेको सिमा नाघेर कुनै पनि कृयाकलाप नगर्न पनि भट्टराईले आग्रह गरेका छन् । कार्यकरमलाई सफल पार्नको लागि बेलायतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्त्जित जनाउनको लागि एनआरएन यूकेले अनुरोध गरेको छ ।
कार्यक्रमस्थल सम्म जानको लागि कभेंट गार्डेन ( पिकाडेली लाईन ) ट्युब स्टेशन र ब्रिटिश रेल मार्फत चेरिंग क्रस स्टेशन बाट पनि पुग्न सकिने छ । तेस्तैगरी बस रुटहरु १६८, १७२, २४३, ६८, र ९ नम्बर बाट पनि कार्यक्रमस्थलमा पुग्न सहज हुनेछ । साथै ट्रफालगर स्क्वारबाट करिब १० मिनेटको पैदल यात्राको दूरी रहेको छ ।
गैर आवासीय नेपाली संघ केन्द्रीय परिषदले भारतीय कदमको जोडदार विरोध र नजिकको भारतीय दूतावास वा हाइ कमिसनमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न सूचित गरेपछि बेलायत शाखाले पनि प्रदर्शन तयारी गरेको अध्यक्ष पुनम गुरुङले जनाइन् ।





