प्रहरीले लामो समयदेखि भारुको अवैध कारोबारमा संलग्न भारतीय नागरिक सत्यनारायण प्रसादलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार कुलेश्वर क्षेत्रबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ३६ लाख (नेपाली रुपैयाँ), एक लाख १९ हजार भारु र विभिन्न बैंकका ३६ लाख ६५ हजार रुपैयाँको चेक बरामद गरेको छ ।
प्रहरी वृत्त कालीमाटीका प्रमुख डिएसपी रुगम कुँवरले लामो समयको प्रयासपछि उनलाई पक्राउ गरिएको बताए । ‘सत्यनारायणले भारतीय रुपैयाँको अवैध कारोबार गर्छन् भन्ने सूचना पहिलेदेखि नै थियो । त्यसैले उनी प्रहरीको निगरानीमा थिए । लामो समयको प्रयासपछि पक्राउ गर्न सकिएको हो,’ उनले भने ।
प्रहरीका अनुसार सत्यनारायणले नेपाल–भारत अन्तरदेशीय व्यापारीलाई गैरकानुनी तवरले भारु उपलब्ध गराउँदै आएका थिए । यसो गर्दा उनले बैंकले उपलब्ध गराउने दररेटभन्दा महँगो शुल्क असुल्थे । कालीमाटी वृत्त प्रमुख डिएसपी कँुवरका अनुसार सत्यनारायणले एक सय भारुको एक सय ६३ नेपाली रुपैयाँ असुल्थे । जबकि नेपाल राष्ट्र बैंकले एक सय भारतीय रुपैयाँको एक सय ६० नेपाली रुपैयाँ दररेट निर्धारण गरेको छ । यसरी साटिएका रकम उनले हुन्डीमार्फत व्यापारीलाई उपलब्ध गराउँथे ।
प्रहरीका अनुसार सत्यनारायणबाट एसबीआई बैंकको १८ लाख ५० हजार, सिटिजन्स बैंको आठ लाख १५ हजार, ग्लोबल आइएमईको १० लाख रुपैयाँ उल्लेख भएको चेक बरामद भएको छ ।
नयाँ पत्रिका





