गोर्खा नालाइन रेडियो लन्डन,
नेपाली दूतावास लन्डनले नेपालमा पर्यटन प्रबर्धन एवं नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मंगलबार साँझ दूतावासमा एक कार्यक्रमको आयोजना गरेको थियो । नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री योगेश भट्टराईले पानसमा बत्ति बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले भर्खरै मात्र विश्वका १४ अग्ला हिमालको सफल आरोहण गरि किर्तिमान राख्न सफल पूर्व ब्रिटिश गोर्खा निर्मल पुर्जालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री योगेश भट्टराईको संक्षिप्त परिचय प्रस्तुत गर्दै ब्रिटेन नेपालबीचको सबैभन्दा पूरानो र प्रगाढ सम्बन्धको बारेमा प्रकाश पारेका थिए । सन् २०१६ मा ४६ हजार बेलायती पर्यटक नेपाल गएका थिए भने सन् २०१७ मा ५१ हजार र गतवर्ष ६३ हजारको संख्यामा ब्रिटिश नागरिकले नेपाल भ्रमण गरेका थिए । यसरि निरन्तर वृद्धि हुँदै गैरहेको यस संख्यालाई बढाएर ७५ हजार भन्दा माथि पुर्याउने लक्ष्य रहेको पनि डा सुवेदीले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री योगेश भट्टराईले ब्रिटेन नेपालको सम्बन्ध अत्यन्त पूरानो भएको र दुई देशबीच निरन्तर रुपमा हुदै आइरहेको उच्चस्तरीय भ्रमणले अझ मजबुत बनाउंदै लागेको बताएका थिए ।
नेपाल सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउंदै आउंदो मार्च २०२० सम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण सम्पन्न हुने सन् २०२१ को मध्य सम्ममा पोखरा विमान स्थलको निर्माण सम्पन्न गर्ने गरी काम भै रहेको पनि जानकारी गराए । नेपाल विश्व प्रशिद्ध पर्यटनस्थलको रुपमा रहेकोले नेपाल भ्रमण गर्नको लागि भट्टराईले सबैलाई निमन्त्रणा दिएका थिए । ब्रिटेनको सत्तारुढ कंजर्भेटिभ पार्टीका साम्सद डा म्याथ्यु अफोर्डले आफू नेपाल नपुगेको र अर्को वर्ष नेपाल भ्रमणमा जाने बताउंदै भूतपूर्व गोर्खा तथा लन्डन बरो अफ बार्नेटका उप मेयर लक्ष गुरुङको बारेमा उल्लेख गरेका थिए । आफू बसेको क्षेत्रसंग नेपालको तुलना गर्दै त्यहाँस्थित नेपालीहरुसंगको सम्बन्ध राम्रो रहेको बताएका थिए । होलिडेको लागि मात्र होइन त्याहांका हरेक गतिविधिको अनुभवको लागि पनि नेपाल भ्रमण गर्नुपर्ने उनको धारणा रहेको थियो । 
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन प्रबर्धन सम्बन्धि भिडियो प्रस्तुत गरेका थिए । पाटाका सीइओ डा मारियो हार्डीले नेपालको स्मरण गर्दै आफूले नेपालमा पहिलोपल्ट पाराग्लाइडिंगको अनुभव गरेको र गैंडालाई प्रत्यक्ष रुपमा आमनेसामने भएर देख्न पाएको बताएका थिए । हरेकपटक विभिन्न किसिमको अनुभव प्राप्त गरेको बताउंदै नेपाल भ्रमण वर्ष२०२० लाई सहयोग गर्न अनुरोध गरेका थिए । तेस्तैगरी १४ पटक सगरमाथा आरोहण गरेका चर्चित ब्रिटिश पर्वतारोही केन्टन कुलले पनि नेपाल र नेपालको प्रकृतिप्रति आफू मोहित भएको बताएका थिए । पटक पटक नेपाल पुगेका कुलले कतिपटक नेपाल पुगे भन्ने समेत स्मरण नरहेको बताए । कुल पहिलो त्यस्ता व्यक्ति हुन् जसले बेस क्याम्पमा नफर्की नै नुप्त्से, सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेका थिए ।
सगरमाथा लगायत अन्य सातवटा सर्वोच्च शिखर आरोहण गर्ने पहिलो ब्रिटिश महिला रेबेक्का स्टेफेन्स एमबीई ले पनि सगरमाथा आरोहण गर्दाको क्षणलाई प्रस्तुत गरेकी थिइन् । नेपाली खाना र शेर्पाहरुको बारेमा पनि उनले खुलेर प्रशंसा गरेकी थिइन् । बरिष्ठ पत्रकार खगेन्द्र नेपाली, रंगकर्मी सनम कुमार बैराग, ज्ञानेन्द्र राउत र निकेश लिम्बुद्वारा तयार पारिएको एक भीडीयो प्रस्तुत गरिएको थियो जसले विदेशमा रहेका दोस्रो पुस्तालाई नेपाल जानको लागि प्रेरित गर्न खोजेको छ । कार्यक्रममा उपस्थित अतिथिहरुलाई उपहार तथा खादाद्वारा सम्मान गरिएको थियो ।
सयपत्री सांस्कृतिक समूहका तर्फबाट नेपाली मौलिक संस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । मन्जुश्री नृत्यमा कबिता गुरुंगको प्रस्तुती रहेको थियो भने लीकन गुरुङ,सेलीना साही,रिश्ता खड्का र रीतिका खरेलले झ्याउरे नृत्य प्रस्तुत गरेका थिए । तेस्तैगरी सन्तोष विश्वकर्मा, दीपक जीसी र प्रवेश बिकले हुड्केली नृत्य र प्रभा बिक, लीकन गुरुङ, सेलीना साही, रीतिका खड्का र रिश्ता खड्काले ‘वेलकम टु नेपाल’ मा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ब्रिटेनको सत्तारुढ कंजर्भेटिभ पार्टीका सांसद डा म्याथ्यु अफोर्ड, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पाटाका सीइओ डा. मारियो हार्डी, १४ पटक सगरमाथा आरोहण गरेका चर्चित ब्रिटिश पर्वतारोही केन्टन कुल, सगरमाथा लगायत अन्य सातवटा सर्वोच्च शिखर आरोहण गर्ने पहिलो ब्रिटिश महिला रेबेक्का स्टेफेन्स एमबीई, ज्याकोब मिडिया ग्रुपका प्रमुख डेनीएला वाग्नर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको उपस्थिति रहेको थियो ।
तेस्तैगरी नेपाल ब्रिटेन सोसाइटीका उपाध्यक्ष महन्त श्रेष्ठ, यूके नेपाल फ्रेन्डशिप सोसाइटीका अध्यक्ष, एन आर एन यूके अध्यक्ष पुनम गुरुङ, ब्रिटेन नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष विराज भट्ट. पप गायक एन्डी बेनेट लगायत ब्रिटेनमा रहेका पर्यटन व्यवसायीहरु तथा वर्ल्ड ट्राभल मार्केटमा भाग लिन आएका नेपाली पर्यटन व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो । दूतावासका उपनियोग प्रमुख शरद राज आरणले कार्यक्रमको संचालन गरेका थिए । फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला





