रानीपोखरीमा माघ दोस्रो साताबाट पानी भरिने

रानीपोखरीमा माघ दोस्रो साता पानी हालिने भएको छ । ०७२ को भूकम्पले क्षतिग्रस्त बनाएपछि रानीपोखरी पानीविहीन छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरीको पुनर्निर्माण गरिरहेको छ । पुस अन्तिमसम्ममा पोखरीमा कालो माटो राखिसक्ने र त्यसमाथि इँटा राखेर पानी हालिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले कालो माटो राख्ने काम सुरू गरिसकेको छ । ‘कालोमाटो राख्ने काम सुरू भइसकेको छ । त्यसमाथि इँटा राख्ने काम पनि सँगै भइरहेको छ,’ प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले भने, ‘पुसको अन्त्यसम्म माटो र इँटा बिछ्याउने काम सकिन्छ । माघको दोस्रो सातासम्म पानी हाल्ने तयारीमा छौँ ।’

रानीपोखरीमा माटो हाल्ने र प्रताप मल्लको पालाको पर्खाल बनाउने काम उपभोक्ता समितिमार्फत भइरहेको छ । त्यसका लागि १५ करोड बजेट छुट्याइएको छ । पोखरीमा पर्खाल लगाउने काम करिब ८० प्रतिशत सकिएको छ । माटो राख्ने काम भने साढे पाँच प्रतिशत सकिएको मानन्धरले जानकारी दिए । भक्तपुर, मध्यपुर थिमि र साँखुबाट कालो माटो ल्याएर बिछ्याइएको प्राधिकरणले जानकारी दिएको छ ।

यसरी भरिनेछ पानी
पानी भर्न पोखरी परिसरमै दुई ठाउँमा बोरिङ गरिने भएको छ । टुँडिखेलमा रहेको इनारको पानीसमेत पोखरीमा लगिनेछ । प्राधिकरणले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)सँग एक डेडिकेटेट लाइन रानीपोखरीका लागि उपलब्ध गराउन आग्रह गरिरहेको मानन्धरले जानकारी दिए ।

मन्दिर र पुलको काम ठेकेदार कम्पनीमार्फत
बालगोपालेश्वर मन्दिर र पुल निर्माण तथा सौन्दर्यीकरणको काम ठेकेदार कम्पनीमार्फत भइरहेको छ । शिखर शैलीमा बनाउन लागिएको मन्दिर निर्माणको जिम्मा गत २४ असारमा प्राधिकरणले लिएर तुलसी जेभीलाई दिएको थियो ।

१० महिनामा सक्ने गरी करिब १० करोडमा ठेक्का सम्झौता भएको ५३ फिट अग्लो मन्दिरको जगको काम सकिएको छ । यस्तै, पुलको पर्खाल निर्माण गर्ने कामसमेत धमाधम भइरहेको छ । सौन्र्दयीकरणका लागि विद्युत् जडान गर्नेलगायतका कामसमेत भइरहेको मानन्धरले बताए ।

२ माघ ०७२ मा राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पदा पुनर्निर्माणको सुरूवात रानीपोखरीबाटै गरेकी थिइन् । ०७३ को भाइटीकाको दिन मन्दिर खोल्ने गरी शिलान्यास गरिएको थियो । तर, शिलान्यासको चार वर्ष बितिसक्दासमेत रानीपोखरी पुनर्निर्माणको काम सकिएको छैन ।

रानीपोखरी पुनर्निर्माणको जिम्मा सुरूवातमा काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, विवादका कारण पुनर्निर्माण अघि बढ्न नसकेपछि गत १४ माघको मन्त्रिपरिषद् बैठकले पुनर्निर्माणको जिम्मा प्राधिकरणलाई दिएको थियो । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.संं. १७२७ मा रानीपोखरीको निर्माण गराएको इतिहास छ ।

कामको रफ्तार बढाइयो

कालो माटो ल्याएर खुट्टाले मुछेर बिछ्याउँदा काममा ढिलो भएको भन्दै अहिले शैली नै परिवर्तन गरेर काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ । कामको रफ्तार बढाउन माटो मुछ्न मेसिनको प्रयोग गर्न थालिएको छ । ‘खुट्टाले माटो मुछ्दा वर्षौँ लाग्ने देखियो । त्यसैले मेसिनको प्रयोग गरेका छौँ । अहिले काम तीव्र गतिमा भइरहेको छ,’ शाक्यले भने । पोखरीमा माछासमेत हाल्ने योजना भएकाले माटोमाथि इँटा बिछ्याइएको शाक्यले जानकारी दिए ।

पर्खाल निर्माणका लागि भने माःआप्पा (प्रताप मल्लकालीन) इँटा प्रयोग गरिएको छ । ‘रानीपोखरी पुनर्निर्माणमा प्रताप मल्लकालीन शैली, स्वरूप र सामग्रीको प्रयोग गरेका छौँ,’ मानन्धरले भने, ‘विशेष अर्डर गरेर सामान आपूर्ति गरेका छौँ ।’
नयाँपत्रिका

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित