गोर्खा अनलाइन रेडियो लन्डन,
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का यूके च्याप्टरका अध्यक्ष एवंम पूर्व बक्सिङ खेलाडी सिद्धार्थ विक्रम भण्डारी क्षेत्रीलाई नेपाल बक्सिङ संघका पूर्व पदाधिकारीहरुले काठमाण्डौमा एक विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । क्षेत्री नेपाल पत्रकार महासंघ बेलायत शाखाका वर्तमान कोषाध्यक्ष समेत हुन् । प्रवासमा बसेर पनि नेपाली खेलाडीहरुको सुखदुख र साह्रो गाह्रोमा सहयोग पुर्याउदै आएको योगदानको कदर स्वरूप बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ र पूर्व महासचिव दीपक गुरुङको पहलमा उनलाई सम्मान गरिएको थियो ।
सिद्धार्थलाई सम्मानस्वरूप प्रमाणपत्र र बुद्धको प्रतिमा प्रदान गर्दै दोसल्ला ओढाईएको थियो । आफूले सम्मानको लागि नभएर नेपाली खेलकुद र नेपाली खेलाडीहरुको सहयोगको काम गरेको र निरन्तर गर्दै जाने बताउंदै आफूलाई सम्मानित गरेर थप हौसला बढाएकोमा धन्यबाद व्यक्त गरेका छन् । क्षेत्रीले भविष्यमा एसियाली खेलकुद र ओलम्पिक छनोटलाई मध्यनगर गर्दै नयाँ पुस्ताका सम्भावित ३ देखि ५ खेलाडीहरुलाई बेलायतमा ६ महिना सम्मको प्रशिक्षणको व्यवस्था मिलाउने पहल भइरहेको समेत जानकारी दिएका थिए । क्षेत्रीको पहलमा केहि दिनअघि नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोल गरेका वाइबी घलेलाई २ लाख रुपैयाँ सहयोग गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रिय सदस्य समेत रहेका घले ११ वर्षदेखि पक्षघातबाट पीडित छन् ।
क्षेत्रीले विगतदेखि नै नेपाली खेलाडीलाई सहयोग गर्दै आएको र स्वदेश फर्केको समय पारेर सम्मान गरिएको बक्सिङ संघका पूर्व महासचिव गुरुङले बताए । संघका पूर्व अध्यक्ष श्रेष्ठले क्षेत्रीको कामको सह्राना गर्दै भविष्यमा पनि सहयोग निरन्तर सहयोगको अपेक्षा गरेका थिए । एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवंम बक्सिका उपाध्यक्ष अर्जुन केसी, ओलम्पिक उमेश मास्के, फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठलगायतले क्षेत्रीको प्रशंसा गरेका थिए । सोहि अवसरमा राजीव श्रेष्ठ र दिपक गुरुङले खेलाडीलाई गाह्रो सारो पर्दा सहयोग गर्ने हेतुले अक्षय कोष स्थापना गर्ने घोषणा समेत गरेका थिए । सो कोषमा श्रेष्ठ र गुरुङले एक एक लाख रुपैयाँ राख्ने घोषणा समेत गरेका थिए भने सम्मानित क्षेत्रीले पनि सो कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।





