गोर्खा अनलाइन रेडियो, लन्डन
गत अक्टुबर २८ तारिखका दिन गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका नवनिर्वाचित उपाध्यक्ष सुनिल खड्काले आफ्नो रेष्टुरेन्ट न्यू हवेलीको वार्सिकोत्सव कार्यक्रम सम्पन्न गरेका छन् । समाजसेवाको उद्देश्यले आयोजित उक्त वार्सिकोत्सव कार्यक्रमबाट संकलित १ लाख ७० हजार रुपैयाँ चितवनस्थित मानवसेवा आश्रमलाई सहयोग गरेका छन् ।
खड्का विगत डेढ दशकदेखि बेलायतमा आफ्नै व्यबसाय संचालन गर्दै आएका छन् भने नेपालका विभिन्न क्षेत्रमा समाज सेवामा समेत संलग्न रहँदै आएका छन् । “स्वाबलम्बन उन्नतिको पथ हो र पराबलम्बन पतनको पथ हो” भन्ने मान्यतालाई आत्मसाथ गर्दै आफ्नो बुद्दि र क्षमताको प्रयोग गर्दै आफ्नो व्यवसायका साथै समाजसेवामा लाग्दै आएको उनले बताएका छन् ।
भर्खरैमात्र खड्काले मानसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई बेलायत बोलाएर अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेका थिए । वैदेशिक दातृ निकायहरुको सर्त सहितको सहयोग स्विकार नगरी आश्रमले सैयौं असहायहरुलाई उत्थान गर्दै आएको छ । गैर आवासीय नेपाली संघको नवौं अधिवेशनमा भाग लिन गएको समयमा खड्का चितवनमा पुगेर सडक वालवालिकाहरुको उद्धारको लागि आफै खटिएका थिए ।
यसअघि उनले सोही आश्रमलाई गत फेब्रोवरीमा तीन लाख ५० हजार आर्थिक सहयोग गरेका थिए । मरे पछिको स्वर्ग र नर्कको परिकल्पना गर्नु भन्दा जिउँदो छँदा नै यो समाजलाई स्वर्ग समान बनाउनु पर्छ भन्ने मान्यताका साथ् अघि बढ्दै समाजसेवामा निरन्न्तर लागिपर्ने खड्काले बताएका छन् ।





