काठमाडौँ । उपनिर्वाचनका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो ३ बजेपछि बैठक बस्न लागेको छ ।
सहमहामन्त्री महतका अनुसार पदाधिकारी बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट बन्ने उम्मेदवारका बारेमा छलफल केन्द्रीत हुनेछ ।
‘जिल्लाबाट सिफारिस भएर आएका नामहरुमा छलफल हुन्छ । तर कतिपय जिल्लाबाट उम्मेदवारको नाम आइनसकेकाले मोटामोटी छलफल भएपनि निर्णयमा पुग्न बाँकी नै रहनसक्छ,’ सहमहामन्त्री महतले रातोपाटीसँग भने, ‘कास्की लगायतका जिल्लाका बारेमा विशेष छलफल हुनसक्छ ।’
मंसिर १४ गते विभिन्न ३७ जिल्लामा प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।
जसमध्ये कास्की निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधसभा सदस्य निर्वाचनलाई प्रमुख राजनीतिक दलहरुले महत्त्वका साथ लिएका छन् । यो क्षेत्रबाट निर्वाचित तत्कालीन एमालेका रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली भएको थियो ।





