गोर्खा अनलाइन रेडियो लन्डन,
हिजोआज एकैछिन मानिसको हातमा फोन भएन भने छट्पटी चल्न थाल्छ, अर्थात मोबाइल फोन बिनाको मानव जीवन नै धुरो बन्न जान्छ । हुन त आफ्नो दिनचर्याको हिसाबले फाइदाजनक नै होला तर यसले हाम्रो जीवनमा भने ठुलै असर पुर्याइरहेको हुन्छ । भनिन्छ नि धेरै खायो भने चिनी पनि तितो हुन्छ, तसर्थ मोबाइल फोनको पनि बढी प्रयोग गरेको खण्डमा मानव जीवनलाई विभिन्न खतरा हुनसक्ने प्रमाणित भएको छ ।
हालसालै मात्र ब्रिटेनको एक डाटा कम्पनी ‘युगभ’ले मोबाइल फोन प्रयोगसम्बन्धी एउटा सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागी मध्य ५७ प्रतिशतले ट्वाइलेट अर्थात शौचालयमा फोनको प्रयोग गर्ने बताएका थिए । आठ प्रतिशतले मोबाइल फोन नबोकी शौचालय छिर्दै नछिर्ने बताएका थिए । प्यासिएन्ट डट इन्फोकी क्लिनिकल डाइरेक्टर डा. सराह जार्भिसले शौचालयमा धेरै समय मोबाइल फोन चलाउँदा पाइल्स हुने सम्भावना बढ्ने बताइन् ।
‘दिसा बस्दा कन्नुपर्ने अवस्था र कब्जियतले पाइल्स हुन्छ,’ डा. जार्भिसले भनिन्, ‘शौचालयमा धेरै बेर बस्दा पनि पाइल्सको समस्या हुन सक्छ । उनले शौचालयमा फोन चलाउने बानी अस्वस्थ भएको बताइन् । ब्याक्टेरिया सम्बन्धी एक नयाँ अनुसन्धान अनुसार मोबाइल फोनमा ट्वाइलेटको सिटमा जत्तिकै र सामान्य ठाउँ भन्दा १० गुणा बढी हानिकारक किटाणुहरु बस्ने गरेको पत्ता लागेको छ ।
डेलीमेललेदिएको जानकारी अनुसार सो अनुसन्धानमा विशेषगरी हाम्रो फोनको स्क्रिनमा सबैभन्दा बढी ब्याक्टेरिया र यिस्ट लगायतका किटाणुहरु हुने देखिएको हो । अध्ययनकर्ताहरुले यसलाई पुष्टि गर्न यसबाट प्राप्त तस्बिरहरु समेत सार्वजनिक गरेका हुन् जसकारण यसलाई अहिले गम्भीर समस्याका रुपमा हेरिएको बताइएको छ । फोनको पछाडिको भाग, लक गर्ने बटन र होम बटनमा पनि अधिक किटाणुहरु फैलने गरेको अनुसन्धानको दाबी छ ।
तसर्थ फोनलाई बारम्बार सफा गरिरहनुपर्छ र यसको प्रयोगलाई कम गर्दै लैजानुपर्ने अनुसन्धानले देखाएको छ ।





