गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । विश्व पर्यटन दिवसको अवसर पारेर शुक्रबार साँझ नेपाली दूतावास लन्डनद्वारा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम नेपाल भ्रमण वर्ष २०२० प्रति लक्षित रहेको थियो । नेपाली दूतावास लन्डन र ट्राभल एण्ड टूर प्रोमोशन कमिटी फर भिजिट नेपाल ट्वेन्टी ट्वेन्टी द्वारा आजोजना गरिएको उक्त कार्यक्रम नेपाली दूतावास भवनमा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा बहराइनका महम्मद अल, पूर्व मेयर भगवान चौहान, ब्रिटेन नेपाल सोसाइटीका उपाध्यक्ष महन्त श्रेष्ठ, ब्रिटेन नेपाल च्याम्बर्स अफ कमर्सका अध्यक्ष डा. कपिल रिजाल, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनाल, कार्यक्रम संयोजक तथा नेपाल भ्रमण वर्ष २०२०, उच्चस्तरिय समिति यूके अन्तर्गत ट्राभल एण्ड टुर प्रमोशनल कमिटी संयोजक बिराज भट्ट लगायत ट्राभल्स तथा हस्पिटालिटीसंग सम्बन्धित् स्वदेशी तथा विदेशीहरुको बाक्लो सहभागीता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल भ्रमण २०२०लाई सफल पार्न विशेष कार्यक्रमका साथ अघि बढ्ने योजना रहेको बताए । चाडै नै पर्यटन प्रबर्धन एवं नेपाल भ्रमण भर्ष २०२० लाई सफल पार्ने लक्ष्यसहित इंग्ल्याण्ड, वेल्स, नर्दन आइरल्यांड र स्कटल्याण्डमा विभिन्न किसिमका नेपाली कला, संस्कृति, नेपाली संगीत तथा नेपाली परिकारहरुको प्रदर्शन गरिने राजदूत सुवेदीले बताए ।
गत वर्ष ६० हजार पर्यटक नेपाल गएका थिए भने यस वर्ष ८० हजार भन्दा बढि पर्यटक नेपाल जाने अनुमान गरिएको बताउदै नेपाल भ्रमण वर्षमा एक लाख पर्यटक नेपाल पाठाउने लक्ष्य रहेको बताएका थिए । महाभूकम्पबाट प्रभावित नेपाल अब पूर्ण रुपमा सामान्य अवस्थाम पुगिसकेको बताउंदै पर्यटन क्षेत्रसंग सम्बन्धित पत्रिकाहरु लन्ली प्लानेट, ट्रीप एड्भाइजर, रक गाइड्स, नेशनल जोग्राफी लगायत अन्य थुप्रै पत्रिकाहरुले नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
पर्यटन प्रवर्धनलाई सफल पार्नको लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा संचालनमा ल्याइसकेको र पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिने क्रममा रहेक बताउदै डा. सुवेदीले नेपालमा पर्यटकहरुलाई गरिने आतिथ्य विश्वमा अन्यत्र कहीं नभएको पनि बताउदै एकपटक नेपाल भ्रमणमा जानको लागि अनुरोध गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले नेपालमा उत्पादित चिया, कफी विश्वकै उत्कृष्टमध्ये पर्ने बताए । उनले हाल १८ जिल्लामा चिया कफी उत्पादन भइरहेको पनि जनाए । चिया कफीको उत्पादंस्थाल्को सौन्दर्यतालाई पनि नियाल्न्को लागि पर्यटकलाई अनुरोध गरेका थिए ।
कार्यक्रम संयोजक एवं नेपाल भ्रमण वर्ष २०२०, उच्चस्तरिय समिति यूके अन्तर्गत ट्राभल एण्ड टुर प्रमोशनल कमिटी संयोजक बिराज भट्टले नेपालबारे विस्तृत जानकारी समेटिएको एउटा ‘प्रिजेन्टेसन’ दिए । भट्टले आफ्नो प्रस्तुतिका क्रममा नेपालको प्राकृतिक सौन्दर्य एवं भौगोलिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक आयामबारे जानकारी दिंदै नेपाल होलिडेका लागि उत्कृष्ट गन्तव्य भएको बताए ।
कार्यक्रमको संचालन दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गरेका थिए । कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य र साहसिक, धार्मिक पर्यटन झल्कने विभिन्न भिडियो देखाइएको थियो । साथै नेपालकी चर्चित नृत्यांगना दिपासा बिसी जलपरी, स्थानीय कलाकारहरु सुस्मिता थापा, सबु सेन्चुरी, अमृता गिरी, पूजा गिरी लगायतले नेपाली मौलिक तथा लोक नृत्य र मदन थापाले सांरगीबाट मालश्री धुन प्रस्तुत गरेका थिए । सो अवसरमा विदेशीहरुमध्येबाट राफल ड्र गरि सात जनालाई विभिन्न आकर्षक पुरस्कार समेत प्रदान गरियो । तेस्तैगरी सहभागी कलाकारहरुलाई खादा लागेर धन्यबादस्वरूप सम्मान गरिएको थियो । बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।





