गोर्खा अनलाइन रेडियो यूके,
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले यसपटक विश्वकै सबैभन्दा बढी मतदाता संख्या कायम गर्नुका साथै डेढ दशक लामो इतिहाँसमा पहिलो महिला अध्यक्ष निर्वाचित गरि एकैसाथ दुईवटा ऐतिहासिक कार्य गर्न सफल भएको छ । तर इतिहासका बावजुद पनि केहि कमीकमजोरी भने नभएका भने होइनन । आफ्नो प्रतिस्पर्धी शेरबहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै श्रीमती पुनम गुरुंग डेढ दशक लामो एनआरएन यूके इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन् ।
आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा निर्वाचित गुरुङले ४ हजार ५ सय ५१ मत प्राप्त गरेकी थिइन् भने उनका प्रत्यासी शेर सुनारले ४ हजार ३ सय ४८ मत प्राप्त गरेका थिए । एनआरएन यूकेको सन् २०१९ देखि २०२१ सम्मको दुई वर्षे कार्यकालको लागि उपाध्यक्षमा सुनिलबाबु खड्का र प्रेम गाहामगर विजयी भएका छन् भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई, महासचिवमा फडिन्द्र भट्टराई, सचिव जित रानाभाट र कोशलेश्वर (कृष्ण) ढकाल, महिला सचिवमा रन्जिता मल्ल, कोषाध्यक्षमा तेजेन्द्र रोका, सह-कोषाध्यक्ष शकुन्तला गुरुङ, युवा संयोजकमा नवीन गुरुङ, महिला संयोजकमा प्रसुना कँडेल निर्वाचित भएका छन् ।
सदस्यहरुमा सरस्वती केसी, अमृता गिरी, गोमा पौडेल, प्रकाश कँडेल, कोपिला वनेम, लालबहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा. सुनिलकुमार शाह, हेमबहादुर लिम्बु, चन्द्रकला लिम्बु, तारामैया गुरुङ र ज्ञानेन्द्रबहादुर आले मगर विजयी भए । आइसीसी सदस्यमा लिलादेवी गुरुङ, सुशीला राई, योगकुमार फगामी, दयानिधि सापकोटा, ललितकुमार न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भएका छन् ।
इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दीपक श्रेष्ठ र स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा छविलाल अर्याल निर्वाचित भए । वेल्स राज्य परिषदमा अध्यक्ष कृष्णप्रसाद भण्डारी र नर्दन आयरल्याण्ड राज्य परिषद अध्यक्षमा नारायणबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले निर्वाचन समितिका प्रमुख डमर घलेसँग आइतवार सफथ लिएका छन् ।
अल्डरशटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नवनिर्वाचित अध्यक्ष गुरुङले गैरआवासीय नेपाली संघको अभियानमा सबै पक्षलाई संगै लिएर हिड्ने प्रतिवद्धता जनाइन् । उनले आफ्नो घोषणापत्र अनुरुप हाम्रो एनआरएन, राम्रो एनआरएन भन्ने मुलमन्त्रमा केन्द्रित रहेर आगामी दिनमा कार्ययोजना लिएर आउने बताइन्। कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले बधाई तथा शुभकामना दिए।
सफथ ग्रहण कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा, सहकोषाध्यक्ष सोप सापकोटा, केन्द्रीय प्रतिनिधी रामशरण सिमखडा, एनआरएनए युकेका पूर्वअध्यक्षहरु, बिभिन्न संघसँस्थाहरुका प्रतिनिधी लगायत ५ सय भन्दा बढी सहभागी थिए । उक्त कार्यक्रममा शेर सुनार समूहको भने उपस्थिति रहेको थिएन । निर्वाचनका दिन धाँदली भएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गर्दै आएका हुन् । 
सबैलाई मिलाएर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष पुनम गुरुंगको प्रतिवद्धता अनुसार चाडै नै सबैलाई मिलाएर उनले सबैलाई समेट्ने प्रयास गर्नेछिन् भन्ने अनुमान गर्न सकिन्छ । photo-HAV amoment





