बामदेवलाई ‘अन्तरघात’को डर

काठमाडौं। सांसद बन्ने ठूलो इच्छा राखेको भनिएका नेकपाका नेता बामदेव गौतम ‘अन्तरघात’सँग तर्सिएका छन्। आफ्नो पार्टीभित्रैबाट धोका भइ आफू चुनाव हार्ने डरका कारण उनले पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र कास्की २ बाट चुनाव लड्न अस्वीकार गरेका छन्। शनिबार बसेको नेकपा सचिवालय बैठकमा बामदेवले उपनिर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेको नेकपा स्रोतले जनाएको छ।

शनिबार बसेको नेकपा सचिवालय बैठकमा उपनिर्वाचनमा रवीन्द्र अधिकारीको क्षेत्र कास्की २ मा बामदेव गौतमलाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको थियो । तर, गौतमले भने उक्त प्रस्ताव अस्वीकार गरेको बताइएको छ । गौतमको भनाइ उद्धृत गर्दै स्रोतले जनाएअनुसार उनले ‘मलाई अध्यक्षज्यूले विश्वास गरेर उम्मेदवारको लागि प्रस्ताव गर्नुभयो यसको लागि धन्यवाद तर म चुनाव लड्दिन’ भनेका थिए।

अघिल्लो संसदीय निर्वाचनमा कास्की २ बाट निर्वाचित पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उनको सांसद पद रिक्त छ। उक्त रिक्त क्षेत्रमा सांसदका लागि उपनिर्वाचन हुँदैछ। यही उपनिर्वाचनका लागि बामदेव गौतमलाई उम्मेदवार प्रस्ताव गरिएको थियो। यहाँ २ महिनापछि आगामी मंसिर १४ मा मतदान हुने समय तालिका तय गरिएको छ।

२०७४ को संसदीय निर्वाचनमा बर्दिया १ बाट चुनाव लडेका गौतम ७५८ मतले पराजित भएका थिए। उनलाई कांग्रेसका संजयकुमार गौतमले पराजित गरेका थिए। स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा तत्कालीन एमाले र माओवादीको मत कांग्रेसको भन्दा झण्डै २८ हजार बढी थियो। तर, बाम गठबन्धनको यति धेरै मत भएको ठाउँमा समेत गौतमले झिनो मत अन्तरले पराजित हुनुलाई ‘अन्तरघात’ भएको मानेको उनीनिकट बताउँछन्।

कास्की २ मा अघिल्लो संसदीय निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरले पराजित गरेका थिए। २८ हजारको मत अन्तर हुँदा समेत अन्तरघातका कारण हराइएको मानेका गौतमले साढे ८ हजारको अग्रता भएको ठाउँमा पनि अन्तरघात गरेर हराइने डरका कारण उम्मेदवार बन्न अस्वीकार गरेको बताइएको छ। यहाँ बामदेवसँगै रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई समेत चर्चामा रहेको र विद्यालाई बाइपास गरेर आफूलाई उम्मेदवार गराइँदा जिल्लाका नेता कार्यकर्ताबाटै अन्तरघात हुने उनलाई डर छ।

यद्यपि बामदेवलाई सांसद बन्ने इच्छा अत्याधिक भएको र त्यत्तिकै हतारो भएको कुरा भने लुकेको छैन। निर्वाचनमा पराजित भएपछि गौतमले झलनाथ खनाललाई राष्ट्रपति बनाउने र उनको ठाउँमा चुनाव जितेर सांसद बन्ने प्रयास गरेका थिए। झलनाथले पनि आफूले राष्ट्रपति बन्नको लागि लबिङ नगर्ने तर पार्टीले बनाएमा स्वीकार गर्ने बताएका थिए। तर, पार्टीले झलनाथलाई राष्ट्रपतिका लागि अघि सारेन।

झलनाथमा लगाएको दाउ हारेपछि बामदेवले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेका थिए। तर, नेपाल स्वयं पनि आफ्नो उमेर कम नै भएको र अझै सक्रिय राजनैतिक करिअर बाँकी नै रहेको भन्दै राष्ट्रपतिको दौडमा अघि बढ्न चाहेनन्। पार्टीले पनि माधव नेपाललाई राष्ट्रपति बनाउनेतर्फ पहल गरेन। पार्टीले विद्या भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने निर्णय गरेपछि बामदेवको दाउ फेल खायो।

बामदेवले यत्तिमा पनि हार मानेनन्। पछि उनले काठमाडौं ७ का निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा गराउने र त्यहाँ उपचुनाव जित्दै सांसद बन्ने प्रयास पनि गरे। तर, रामवीरलाई राजीनामा गराउने प्रयास पनि विफल भयो। रामवीरले राजीनामा दिने घोषणा गरेसँगै बामदेवलाई सांसद बनाउने चलखेल भएको भन्दै चौतर्फी विरोध भएपछि पार्टी दबाबमा आयो र अन्ततः रामवीरलाई राजीनाम नदिन पार्टीले नै निर्देशन दियो।

बामदेवको सांसद बन्ने चाहना भने अझै उत्तिकै छ। कास्की २ बाट चुनाव नजितिने देखेर पछि हटेका बामदेवले अब डोल्पामा दाउ खेलेका छन्। उनले यहाँबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा गराउने र त्यहाँबाट चुनाव जित्ने दाउ खेलेका छन्। संसदीय निर्वाचनमा यहाँ नेकपाका धनबहादुर बुढाले कांग्रेसका अंगदकुमार बुढाले भन्दा ३ गुणाभन्दा बढी मत ल्याएका थिए। यहाँ धनबहादुर बुढाको मत ११ हजार ७६१ र अंगदकुमार बुढाको मत ३ हजार १६७ थियो । यति ठूलो मत अन्तरले नेकपा निर्वाचित भएको क्षेत्रमा आफूले जित्ने निश्चित भएको र अन्तरघात नै भए पनि हार्ने सम्भावना कम भएकोले बामदेवले यहाँ दाउ खेल्न चाहेको बताइएको छ।
डिसी नेपाली

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित