देशैभरि झरी, दुई जनाको मृत्यु

सोमबारदेखिको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोमा परी २ जनाको मृत्यु भएको छ। संखुवासभाको मकालु गाउँपालिका-६ की २६ वर्षीया शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ।

गत सोमबार अपराह्न ४ बजे राईसहित अन्य चार जना आफन्त सिलिचोङ गाउँपालिका-५ र मकालु गाउँपालिका-६को बीचमा पर्ने पोखुवा खोला तर्ने क्रममा शुकमायालाई खोलाले बगाएको थियो। दुई दिनको खोजीपछि शुकमायाको शव मकालु गाउँपालिका-६ स्थित पोखुवा दोभानमा फेला परेको हो।

यता काभ्रेको पाँचखाल नगरपालिका-४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ। बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसीथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो। बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएको हो।

घटनालगत्तै स्काभेटरको सहायताले स्थानीय तथा सुरक्षाकर्मीले पसलभित्र फसेका बालकको खोजी गरेका थिए। बिहान ७ बजेदेखि पहिरो पन्छाउँदा ११ बजे बालकको शव फेला परेको वडाध्यक्ष सुन्दर लामाले जानकारी दिए। उनका अनुसार जैसिथोक स्थायी घर भएका तामाङको परिवार पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा एकतले कच्ची घरमा पसल सञ्चालन गर्दै आएको थियो।

वर्षाका कारण संखुवासभाको सिलिचोङ गाउँपालिका-३का अर्जुन राईको घर भत्कँदा परिवारै विस्थापित भएका छन्। वर्षाका कारण घर भत्किएर पूर्ण रुपमा क्षति भएपछि विस्थापित भएका उनीहरू आफ्नै गोठमा बसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

बाढी गाउँ पस्दा उदयपुरको बेलका नगरपालिका-३ निशानटोल सातपत्रेका १२ घर डुबानमा परेका छन्। स्थानीय गिदेरी खोलाको बाढी गाउँ पस्दा उक्त टोलका १२ घर डुबानमा परेका हुन्।

यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिका-३ को काली खोलाले को१च ६४२० नम्बरको मारुती भेनलाई बगाउँदा क्षति भएको छ। उक्त भेनमा सवार तीन जनाको सकुशल उद्धार गरिएको छ भने भेनलाई खोलाबाट बाहिर निकाली खोला किनारामा राखिएको छ।

त्यस्तै, त्रियुगा नगरपालिका-३ मा रमानन्द शाहले सञ्चालन गरेको किराना पसलमा भेल पस्दा करिब ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

यसैगरी, बेलका नगरपालिका-६ घारे खोलाको बाढीले हाइड्रोपावर बगाउँदा १५ घर परिवारको विद्युत अबरुद्ध भएको छ। झापाको माइखोलामा आएको बाढीले कटान गर्दा जोखिममा परेका झापाको शिवसताक्षी नगरपालिका-१० बानडाँडा सुकुम्वासी टोलमा रहेका तीन घर परिवारलाई अन्यत्र सारिएको छ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोलीले जोखिममा परेकालाई सुरक्षित स्थानमा सारेको हो। सोमबार साँझदेखि पर्न थालेको पानी बिहीबार बिहानदेखि रोकिन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार बिहीबार बिहानदेखि पानी पर्न रोकिने छ भने दिउँसो घाम लाग्नेछ। बुधबार दिउँसोदेखि सुदूर पश्चिमका पहाडी क्षेत्रमा मौसम खुल्दै आएको छ।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित