गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । नेपालका ओलम्पियन दीपक विष्टसहित चार जना प्रशिक्षकहरुलाई सम्मान एवं हौसला प्रदान गरिने उद्देश्यले आइतबार दिउँसो नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एक विशेष ससम्मान कार्यक्रमको आयोजना गरेको थियो । लन्डनको ह्यार्रोस्थित माया पबमा आयोअजना गरिएको उक्त कार्यक्रममा ओलम्पियन दीपक विष्ट, त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस क्लबका रन्जन श्रेष्ठ र प्रशिक्षक कविराज खड्गीलाई सो कार्यक्रममा सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा ब्रिटिश संसद वीरेन्द्र शर्मा, यती नेपाली एसोशिएसन यूके अध्यक्ष ध्रुब केसी, ओमन एसोशिएसन यूके अध्यक्ष आरति श्रेष्ठ, सोलिसिटर राजु थापा, गोर्खा बियरका संस्थापक हरि केसी, क्याप्टेन आर के श्रेष्ठ, सेफ एशोसियसनका अध्यक्ष दधि आचार्य, यति एशोसिएसन पूर्व अध्यक्ष शशिधर नेपाल लगायत अन्य थुप्रै व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
युके स्पोर्टस् र ग्रेट ब्रिटेन तेक्वान्दो एसोसिएसन तथा नेपाल तेक्वान्दो संघबीच दुई वर्षअघि भएको सम्झौता अनुरुप ओलम्पियन दीपक विष्ट सहितको टोली प्रशिक्षणका लागि बेलायत आएको हो । सेप्टेम्बर १ देखि १० सम्म म्यानचेस्टरमा भएको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेर उनीहरु नेपाल नेपाल फर्किने तयारीमा रहेको नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले जानकारी दिए ।
आफुहरुले पाएको सम्मानले थप उर्जा र हौसला बढेको ओलम्पियन दीपक विष्टले बताएका छन् । आफूहरुले गरेको प्रशिक्षणबाट धेरै कुरा सिक्ने अवसर र सहयोग मिलेको पनि उनले बताए । नेपालका खेलाडीहरुलाई यसरि विदेशमा प्रशिक्षणको अवसर प्रदान गर्न सक्ने हो र विदेशीहरुलाई पनि नेपालमा बोलाएर एकापसमा सहकार्य गर्दै लैजान सकेमा नेपाली खेलकुद क्षेत्रले ठूलो फड्को मार्न सक्ने पनि विष्टको धारणा रहेको छ । 
कार्यक्रममा एनआरएन आइसीसी उपाध्यक्ष कुल आचार्य, यति नेपाली एसोशिएसन यूके तथा नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको तर्फबाट खेलाडीहरुलाई उपहार तथा सम्मान गरिएको थियो ।















