किशोरीमाथि सामूहिक बलात्कार

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि आज प्रहरीले सो घटनाबारे जानकारी गराएको हो । एक साताअघि रातिको बेला करीब ७ बजेको समयमा गाउँभन्दा दक्षिण खुलामा शौच गर्नका लागि गएकी सो किशोरीलाई चार युवाले सामूहिक बलात्कार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

किशोरीलाई एक्लै देखेर चार युवाहरु उनलाई पक्रेर मुख थुन्दै धान खेतमा लगेर सामूहिक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । पालैपालो चारै जनाले बलात्कार गरेपछि किशोरी अर्धबेहोस भई अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा बस्तीमा पुग्दा स्थानीय तथा आफन्तले उनलाई सोधेपछि घटनाबारे सविस्तार बताएकी थिइन् । किशोरीले आफूलाई बलात्कार गर्नेमा दुई आफन्त नै रहेको र आफूले चिनेको तथा दुई बाहिरी युवाहरु रहेको बताएकी छिन् ।

यता प्रहरीले अनुसन्धान गर्दा किशोरीलाई बलात्कार गर्ने चारै जना युवाहरु घटना घटाएर भारतको मुम्बई भागेको जनाएको छ । तर प्रहरीले पीडित किशोरीको उपचार गराई उनको बयानको आधारमा चारै जनामाथि जबर्जस्ती करणी मुद्दा चलाइसकेको र उनीहरुको व्यापकरूपमा खोजतलास भइरहेको तथा उनीहरुलाई चाँडै पक्राउ पर्ने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित