बागलुङ – आँफैले उत्सर्जन गरेको फोहोरको व्यवस्थापन गर्न नसक्दा उत्पन्न हुने समस्याको बिषयमा जानकारी पाएपछि ताराखोला गाउँपालिका–५ करिमेलाका स्थानीयले सरसफाईका लागि नयाँ बिधि प्रयोगमा ल्याएका छन् । गाउँमा प्रयोग हुँदै आएको प्लाष्टिकका सामानको बिस्थापन गर्दै स्थानीय उत्पादनको प्रयोगमा करिमेलाबासीले चासो देखाएका हुन् ।
करिमेलाका ८२ घरपरिवारले फोहोर व्यवस्थापनको लागि प्रयोग गर्दै आएको फोहोर फाल्ने भाँडाको रुप फेरीएको छ । १२ बाख्रा पालक किसानको खोरको प्रकृति फेरीएको छभने २२ वटा कुखुराका खोर नयाँ प्रबिधिका बनेका छन् ।
प्लाष्टिकका भाँडाको प्रयोगले स्वास्थ्य र वातावरणमा समेत गम्भीर असर गर्ने जानकारी पाएपछि उनीहरुले फोहोर फाल्ने भाँडो तयार गर्न स्थानीय बाँस प्रजातीको निगालोको प्रयोग गरेका छन् । अहिले करिमेलाको गाउँलाई नमुना गाउँका रुपमा विकास गर्न ८२ घरमा प्लाष्टिकको भाँडाको विकल्पमा चोयाको भाँडा ‘डस्वीन’ प्रयोगमा ल्याएको स्थानीय अगुवा धनबहादुर बिकले जानकारी दिए ।
करिमेलाका खेतबारीको छेउछाउदेखी जंगलमा पाईने निगालो प्रयोगमा ल्याएर नयाँ प्रयास थालिएको उनले बताए । ‘बाख्राले खाने घाँसबाहेक निगालो खेर गैरहेको थियो यसैलाई प्रयोगमा ल्याउँ भन्ने लागेर डस्वीन बनायौं’ बिकले भने ‘उत्पादनका हिसाबले प्लाष्टिकको भाँडाभन्दा सस्तो र उपयुक्त छ ।’ फोहोर फाल्ने भाँडो भएपनि निगालोबाट बनाईएको भाँडो देख्नका लागि समेत सुन्दर हुने उनले बताए ।
करिमेलामा प्रयोगमा आएको यो भाँडाको पछिल्लो समय ताराखोला बाहिरबाट समेत माग आउन थालेको छ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम’ अन्र्तगत करिमेलामा प्लाष्टिक बिस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरिएको हो ।
निगालोबाट फोहोर फाल्ने भाँडो तयार गर्नका लागि जनएकता बहुद्देश्यीय सहकारी संस्थाले संयोजन गरेको थियो । ८२ परिवारका एक÷एक जनाले मिलेर जंगलबाट ल्याएको निगालोलाई ६ जनाले चोया बनाउने काम गरिरहेका र ६ जना सिकारु राखेर डस्विन तयार गर्न लगाईएको थियो । प्रतिडस्वीन एक हजार रुपैयाँ खर्च भएको सहकारीका अध्यक्ष समेत रहेका बिकले बताए ।
फोहोर संकलन गर्ने डस्वीन मात्रै होईन परम्परागत निगालोबाट बुनेका अन्य घरायसी प्रयोजनका सामग्रीको संरक्षण समेत सँगै थालिएको छ । घरायसी काममा प्रयोग हुने प्लाष्टिकका सामग्रीको प्रयोग बढ्दै गएकाले डालो, मान्द्रो (चोयाबाटै बुनिएको एक सामग्री), सेखु, डोका बुनेर स्थानीयलाई वितरण गरिएको छ । गाउँमा रहेका फूल रोप्ने प्लाष्टिकको गमला हटाएर स्थानीय सामाग्रीकै प्रयोग गरिने समेत विकले बताए ।
जनमञ्च





