काठमाडौं : सिंगापुर उड्न लागेका गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई सिल्क एअरले जहाजबाट बाहिर निकालिदिएको छ। भट्टसँगै सिंगापुर जान लागेका सनत न्यौपानेले फेसबुकमा अडियो लाइभ गरेपछि यो घटना बाहिर आएको हो।
सिटमा बसिसकेपछि क्याप्टेनले आफूहरूलाई बाहिर निकालेको न्यौपानेले बताएका छन्। व्यक्तिगत पूर्वाग्रह राखेर आफूहरूमाथि दुर्व्यवहार गरिएको उनको दाबी छ।
‘क्याप्टेन आएर ‘आइ क्यान नट फ्लाइ विथ यु’ (म तपाईँसँग उडान गर्न सक्दिनँ)’ भन्नुभयो’, न्यौपानेले फेसबुकमा गरेको अडियो लाइभमा भनेका छन्, ‘सिल्क एअरले व्यक्तिगत पूर्वाग्रह राखेर यस्तो गर्यो, म लज्जित छु।’
एनआरएनएका अध्यक्ष भवन भट्टले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। सिल्क एअरले पनि अहिलेसम्म प्रतिक्रिया दिएको छैन। सिल्क एअरका कर्मचारीले यो विषयमा प्रतिक्रिया दिन मानेनन्।
‘नेपालमा अफिस भएपनि यस्तो कुरा हेड अफिसले ह्यान्डल गर्छ’, भन्दै टेलिफोनमा प्रतिक्रिया दिन कर्मचारीले अस्वीकार गरे।
मदिरा कारण !
न्यौपानेले आफूहरूले मदिरापान गरेको स्वीकारेका छन्। तर यही कारण नै आफूहरूलाई रोकिएको हो वा अरु कारण भन्ने केही खुलाएका छैनन्।
आफूहरू बिजनेस मिटिङमा रहेको उल्लेख गर्दै न्यौपानेले भनेका छन्- ‘हामी बिजनेस मिटिङमा थियौं, बिजनेस मिटिङमा कुन लेभलको अल्कोहल कन्जम्सन (रक्सी सेवन) हुन्छ भन्ने जगजाहेरै छौं।’ ध्यागमन, प्रि बोर्डिङ हुँदै बोर्डिङ पास गरेर जहाजमा बसिसकेको अवस्थामा आफूहरूलाई बाहिर निकालिएको उनको आरोप छ। तर न्यौपानेले उक्त अडियो फेसबुकबाट हटाइसकेका छन्।
उनीहरू राति ९:५० को फ्लाइटबाट सिंगापुर उड्दै थिए। सिंगापुरमा बिजनेस मिटिङसँगै उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी स्वास्थ्यलाभको कामना गर्ने आफूहरूको योजना रहेको न्यौपानेले खुलाएका छन्।
सिल्क एअरले यो घटनामा माफी माग्नुपर्ने न्यौपानेको तर्क छ। ‘म लज्जित छु, अध्यक्षज्यूलाई न ब्रेथलाइजर लगाइयो, न केही। आधारहीन रुपमा अफबाह फैलाइयो’, मिडिया रिपोर्टहरूबारे उनले भनेका छन्।
अन्नपूर्ण पोष्ट





