गोर्खा अनलाइन रेडियो यूके,

“कल्ले देला धन मलाई कल्ले देला धन कल्ले देला मन मलाई कल्ले देला मन” लोकप्रिय पप गायक दिपक बज्राचार्यको पछिल्लो गीत ‘मन मगन’ को सफलताले नेपाली सांगीतिक क्षेत्रलाई विश्व समुदायमा चिनाउन सफल भएको छ । आफ्नो प्रस्तुतीलाई विश्वसामू चिनाउने उद्देश्यले मन मगन टुर मार्फत विश्वका विभिन्न स्थानहरुमा सांगीतिक कार्यक्रमको आयोजनाहरु गर्दै आएका छन् । यसै क्रममा बेलायतवासी नेपाली माँझ आफ्नो छुट्टै स्थान बनाउन सफल सपन इन्टरटेन्मेण्टको आयोजनामा “मन मगन युके टुर २०१९” को आयोजना हुने भएको छ । 
पप गायक दिपक बज्राचार्य तथा रिदम ब्यान्ड सहितको उपस्थितिमा जोडदार प्रस्तुती रहने सपन इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सपन कुमार राईले बताएका छन् । १८ वर्ष माथिका लागि मात्र प्रवेश गर्न दिइने उक्त कार्यक्रम अगष्ट ३० मा केटीएम क्लब ह्यारो र अगष्ट ३१ तारिखका दिन अल्डरसटस्थित एम्पाएर हलमा आयोजना हुने भएको छ । साँझ ८:३० देखि शुरु भएर बिहानको २:३० सम्म संचालन हुने सो कार्यक्रमामा रिदम ब्याण्ड र गायक बज्राचार्यका अलावा दाजुभाई ब्याण्डका साथमा डिजे एस काजीले भरपुर मनोरंजन दिलाउने प्रयास गर्नेछन ।
ओ अमिरा, मायाको डोरीले, ऋतु, अल्लारे, काली काली, झुमी झुमी लगायत दर्जनौं हिट गीतहरु दर्शक स्रोताहरुमाझ पस्किन सफल दिपक बज्राचार्यको मन मगन भने विशुद्ध नेपाली संस्कृती र नेवारी परम्पारामा आधारित रहेको छ । हिन्दी तथा नेपाली दुवै भाषामा गाइएको यस गीतले दर्शक स्रोताको मन जित्नुका साथै नेपाली सांगीतिक क्षेत्रको उचाई अझ उच्चो भएको छ । “मन मगन युके टुर २०१९” मा सहभागिता हुनको लागि गायक दिपक बज्राचार्यले सम्पूर्ण बेलायतवासीहरुलाई अनुरोध गरेका छन् ।
पछिल्लो समयमा लोकप्रिय रहेको मन मगनले दर्शक स्रोताहरुलाई बेग्लै किसिमको मनोरंजन दिलाउनुका साथै फ्री राफल ड्राको समेत व्यबस्था गरिएको सपन राइले बताएका छन् । अग्रिम टिकट लिनेहरुको लागि २५ पाउण्ड र सोहीदिन हलमा लिनेहरुको लागि टिकट ३० पाउण्ड निर्धारित गरिएको छ ।





