Breaking News
Home > Blog > जनतासंग जनप्रतिनिधि अभियान संचालन

जनतासंग जनप्रतिनिधि अभियान संचालन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

बागलुङ – सत्ताधारी नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहको दुई बर्ष र संसद निर्वाचित भएको डेढ बर्षपछि जनतासँग जनप्रतिनिधि अभियान संचालनमा ल्याएको छ ।
बुधवार बागलुङ नगर समितिले पहिलो कार्यक्रम गरेर जिल्ला स्तरीय अभियानको थालनी गरेको छ । जनता र जनप्रतिनिधिबीच भेटघाट नहुने, बिकास निर्माण र जनताको आवस्यकता बीचको समान बुझाई कायम गर्ने र नकारात्मक धारणा कम गर्न जनतासँग जनप्रतिनिधि अभियान ल्याएको नेकपाका बागलुङ नगर अध्यक्ष धनबहादुर परियारले बताए । यो अभियान जिल्लाभरीनै चलाउने नेकपाले तयारी गरेको बताइएको छ ।
यो अभियानमा संघिय सांसद सूर्य पाठक, प्रदेश सदस्य ईन्द्रलाल सापकोटा र नगरपालिका प्रमुख जनक पौडेलले स्थानीयले उठाएका जिज्ञाशाको जवाफ दिएका थिए । बुधबार बागलुङ नगरपालिका वडा नं. १ मा अभियानको थालनी गरिएको हो । उक्त अवसरमा सरोकारवालाले खानेपानी, सरसफाई, सडक र करको समस्याबारे गुनासो गरेका थिए ।
सदरमुकामका लागि पानी बितरण गर्न बनाइएको दुइवटा ट्रिटमेन्ट प्लान्ट संचालनमा नल्याएकोले सधै धमिलो पानी खानु परेको, नगरको फोहोर दैनिक उठ्न नसकेको र सडक मापदण्डहरुमा एकरुपता नभएको गुनासो गरे । ‘मध्यपहाडी लोकमार्गको यकिन मापदण्ड कायम नभएकोले जग्गा किनबेच गर्न नपाएर जनता हैरान छन्’ केवी राना मगरले भने, ‘यो बाध्यतालाई जनप्रतिनिधिले तत्काल सम्बोधन गरिदिनुपर्छ ।’ मध्यपहाडी लोकमार्ग बाङगेचउरदेखि रामरेखाहुँदै उपल्लाचौर जाने गरी रेखाङकन भएको छ । उक्त खण्डमा दर्जनौ घर मापदण्डमा परेका छन् । नगरभित्र संचालन हुने योजनाहरु संघ, प्रदेश र स्थानीय तहको फरक फरक ढंगले संचालन हुँदा जनप्रतिनिधिले पनि थाहा नपाउने अवस्था आएको अर्काथरीको गुनासो छ । एउटा आयोजनाले दिने मापदण्ड अर्कोमा फरक आउने, गुणस्तर फरक र काममा ढिलासुस्तीले टोलटोलमा झगडा पर्ने अबस्था आएको उनले बताए । रामरेखा निमाबिमा दरबन्दी नभएको, अपांग छात्रावास बनेपनि अपांगलाई जाने आउने सडक नबनेको, माझी बस्ती बनेर पनि हस्तान्तरण नभएको, ३ जनाले अझै लालपुर्जा नपाएको लगायतका जिज्ञाशामा जनप्रतिनिधिले जवाफ दिएका थिए । कार्यक्रममा सहभागिका मागबारे सम्बोधन गर्दै पाठकले कम्तिमा एक महिनामा मात्र कोरिडोर संचालनमा आउने बताए । कालीगण्डकीको पश्चिम किनाराबाट संचालन हुने स्पष्ट व्यवस्था भएकोले कोरिडोर बेनीसम्मै पश्चिम किनाराबाट जाने समेत बताए । ठेकेदारले काम रोकेर संरचना अलपत्र हुने व्यवस्था अन्त्यका लागि संसदका बिषयगत समितिमा ठेकेदारलाई २० प्रतिशत पेश्की दिने चलन हटाउने निर्णय भैसकेको बताए । काम गर्ने ग्यारेन्टी भएपछि मात्र ५ प्रतिशत पेश्की दिने गरी नियमाबलीको मस्यौदा आएको उनले स्पष्ट पारे । प्रदेश सभासद इन्द्रलाल सापकोटाले बिकास निर्माणको काममा हुने अनियमिततामा शुन्य सहनशिलताको नीति लिनुपर्ने बताए । जनताको अपेक्षा पुरै समाधान गर्न नसकेपनि कम्तिमा प्रयास हुनैपर्ने उनको धारणा थियो । सबैभन्दा धेरै बिषय केन्द्रीत भएकोले नगरप्रमुख पौडेलले ४० मिनेट लामो जवाफ फर्काए । संघिय मोडलमा जाँदाका अन्यौलताका कारण कतिपय कामले गति नलिएको भन्दै पौडेलले वास्तविक आवस्यकतामा सम्बोधन हुने बताए । ‘सडक बन्ने क्रममा भएकोले बिद्युत र हरियाली बनाउने अभियान प्रभावित भएकै हो’ उनले भने, ‘काम नसकिंदै भत्काउने परिस्थिति नआओस् भनेर पैसा जगेडा राखेर बसेका छौं ।’
उनले हरियाली बागलुङको अवधारणा केही समयमै पुरा गर्ने बताए । रामरेखा सामुदायिक वनको अवरोधले धेरै बिकास निर्माणमा समस्या परेको भन्दै संरचना बनाउने क्षेत्रलाई वनले स्वामित्वबाट हटाएर सार्वजनिक क्षेत्रमा दिनुपर्ने माग राखे । सार्वजनिक स्थानमा परिणत भएमा बाङगेचउर र रामरेखाका क्षेत्रमा सार्वजनिक महत्वका धेरै संरचना बनाउन सकिने उनले बताए । टोलटोलमा हुने गुणस्तर हिन काम रोक्न अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने र गुणस्तर मापनका लागि उपकरण समेत ल्याएको उनले बताए । कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज बलावती शर्माले पार्टीको बिषयमा उठेका जिज्ञाशाको जवाफ दिएकी थिइन् । कार्यक्रममा सामुदायिक सेवा केन्द्र रामरेखा, स्थानीय टोल सुधार समितिहरु र अन्य सरोकारवालाले जनतासँग जनप्रतिनिधि कार्यक्रमले बढ्दो दुरी घटाउन पद्दती पुग्ने बताएका थिए ।
जनमञ्च

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1