गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । बेलायतवासी नेपालीहरुबीचमा निकै ठूलो उत्साह र पर्वको रुपमा हेरिने ११औं नेपाली मेला विगतका वर्षमा जस्तै यसपटक पनि यहि अगष्ट २५ तारिख आइतबारका दिन लण्डनको केम्प्टन पार्क रेसकोर्समा हुदैछ । नेपाली कला, संस्कृति परम्परा र भेषभूषा झल्काउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई तमुधीं यूकेको आयोजना तथा नेपाली दूतावास लण्डनको सहकार्यमा गरिंदै आएको छ । कार्यक्रमको तयारि एवं व्यबस्थापनको बारेमा तमुधीं यूकेले आज कार्यक्रमस्थलमा नै एक पत्रकार सम्मेलम गरि जनकारी गराएको हो । 
करिब ३५ हजार पाउण्ड अनुमानित खर्च लाग्ने उक्त कार्यक्रमलाई व्यावसायिक रुपमा मात्र नभइकन नेपाली कला संस्कृती र परम्परालाई जगेर्ना गराउने र सबैसामू परिचित गराउने उद्देश्यले गरिंदै आएको आयोजक तमुधिं यूकेले जानकारी दिएको छ । तमुधिं यूकेले सन् २००९ देखि एक हजार जनाको उपस्थितिबाट शुरु गरेको यस कार्यक्रममा हाल आएर दशौँ हजारको सहभागीता हुँदै आएको छ । मेलामा २८ संघसंस्थाले झांकी प्रदर्शन गर्ने, स्टेजमा विभिन्न ११ समूहका नाच प्रस्तुत, ६ वटा खाना स्टल र अन्य २५ व्यापारिक स्टल रहने मेला संयोजक जुमकाजी गुरुङले जानकारी दिए । युवाहरुका लागि २ घण्टा समय छुट्याइएको छ जहां उनीहरुले गीत संगीत प्रस्तुत गर्नेछन् ।
मेलामा उत्कृष्ट झांकी प्रस्तुत गर्ने समूहलाई ११ सय पाउण्डको एम्बासडर कप, तीनसय पाउण्डको एनआरएनए कप, ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएका छन् । नृत्यमा उत्कृष्ट हुने पहिलो समूहलाई ५ सय पाउण्ड, झांकी र नृत्य प्रस्तुत गर्ने दुई समूहलाई सान्त्वना स्वरुप दुई दुई सय पाउण्ड दिइनेछ । राफल ड्रमा नेपाल रिटर्न टिकेट र एकतोला सुन राखिएको छ । हाल भिजाको प्रतिक्ष्यामा रहेका गण्डक प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई प्रमुख अतिथीका रुपमा राखिने योजना रहेको संस्थाले जनाएको छ ।
अतिथी सत्कार संयोजक मेजर रि. कृष्ण गुरुंगले विशेष अतिथीहरु राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित विभिन्न देशका राजदूत, कुटनीतिज्ञहरु गरि करिब तीन सय अतिथीको सहभागिता रहने अपेक्षा गरिएको बताए । मेलामा सुरक्षा र स्वास्थ्य सेवा प्रवन्ध हुने आयोजकले जनाएका छन् । पत्रकारहरुको जिज्ञासा मेटाउंदै अध्यक्ष नन्दजंग गुरुङले नेपाली मेला शुरु भएको ११ वर्षमा यसको उपलब्धि नेपाली कला, संस्कृति र भेषभूषा भावी सन्ततिमा हस्तान्तरण गर्न बल पुग्नु रहेको बताए ।
विभिन्न समुदायबीच अन्तरघुलन र विदेशी कुटनीतिज्ञहरुको उपस्थितिले नेपालबारे अन्तर्राष्ट्यि प्रचार प्रसार र पर्यटन प्रवर्धनमा सघाउ पुग्ने समेत अध्यक्षको विश्वास छ । उनले आफू संस्थाको नेतृत्वमा आएपछि बजेट कटौती गरिएको र यसको मारमा मिडिया पनि परेको उनले स्वीकारे । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै आफूहरु आउंदो साता केम्पटन पार्कलाई नेपालमय बनाउन आतुर रहेको बताए ।
मिडिया सेक्रेटरी रोहित गुरुङले सञ्चारकर्मीहरुको परिचय गराएका थिए भने अध्यक्षले सञ्चारकर्मीहरुलाई स्वागत सम्मान गरेका थिए । कार्यक्रममा आमा समूहकी सचिव यशोधा गुरुङले आमा समूहले काउन्टरमा टिकेट व्यवस्थापन गर्ने, सारीको एक स्टल राख्ने र संकलित रकम क्यान्सर पीडितलाई सहयोग गर्ने योजना रहेको जनाइन् ।
मेलामा वयस्कका लागि प्रवेश शुल्क ५ पाउण्ड, १२ वर्ष मुनीका बालबालिकाका लागि तीन पाउण्ड, कार पार्क शुल्क ५ पाउण्ड र बस शुल्क १२ पाउण्ड तोकिएको छ ।
कार्यक्रमलाई सफल पार्नको लागि सम्पूर्ण बेलायतवासीहारुलाई नेपाली मेलामा सहाभागी हुनको लागि आयोजक तमुधि यूकेले अनुरोध गरेको छ । नेपाल र नेपालीको हितका लागि आयोजना गरिंदै आएको नेपाली मेलाले नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोग पुर्याउने आयोजकले बताएका छन् । बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला 





