काठमाडौं : अध्यागमन विभागले नेपाल प्रवेश गर्न खोज्ने चार सिरियाका नागरिकलाई इन्ट्री रिफ्युज (फिर्ता) गरेको छ। फ्लाइ दुवईबाट नेपाल आएका चार सिरियाका नागरिकलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले नेपाल प्रवेश गर्न नदिइ फिर्ता पठाएको हो।
सिरियाका नागरिकले आगमन प्रवेशाज्ञा (अनअराइभल) पाउँदैनन्। फिर्ता हुनेमा दुई पुरुष र दुई महिला रहेका छन। अध्यामगनले सारबेल कोइरी, मोनिर क्वास, अमाल नायफ र फतामे तहेसालाई नेपाल प्रवेश नदिएको हो।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख कुमारबहादुर खड्काले अवैध नेपाल प्रवेश गर्न खोज्ने सिरियाली, इरानीलगायतका विदेशीलाई प्रवेश गर्न नदिइएको बताए। खड्काले अन्नपुर्णसँग भने,‘अवैध ढंगले नेपाल प्रवेश गर्न खोज्नोलाई उतै फर्काइदिने गरेका छौँ। ती सिरियालीसँग नेपालको भिसा नै थिएन।’
गृहमन्त्रालयले तीन वर्ष अघि सिरियाका नागरिक नेपाल ट्रान्जिट बनाइ युरोप छिर्न थालेपछि उनीहरुले पाउँदै आएको अनअराइभल भिसा सुविधा रद्द गरेको थियो। सिरियाका नागरिकले युरोपेली मुलुकको नक्कली राहदानी बनाइ नेपाल आउने गरेका थिए। त्यसपछि गृहमन्त्रालयले उनीहरुलाई दिएको अनअराइभल रद्द गर्दै सिरियालीमाथि निगरानी समेत बढाएको थियो।
साउन २० गते फ्लाइ दुवईबाट नेपाल प्रवेश गर्न खोज्ने ४ जना सिरियालीलाई विमानस्थल अध्यागमले सोही जहाजमा फिर्ता गरेको हो।
अध्यागमनका डेस्क अधिकृतले सिरियाली राहदानी बोकेका यात्रु देखेपछि सोधपुछ गरेका थिए। उनीहरुको राहादनीमा नेपालको भिसा थिएन। अनअराभल भिसा सुविधा रद्द भएपछि सिरियाका नागरिकले सिरिया नजिकमा रहेको नेपाली कूटनीतिक नियोगबाट वा अन्य कुनै मुलुकमा रहेको नेपाली नियोगबाट भिसा लिनु पर्ने हुन्छ। सिरियामा आन्तरिक द्धन्द्ध बढेपछि त्यहाँबाट विस्थापित भएका सिरियाली नेपाल आउने क्रम बढेको थियो।
सिरिया र इरानी नागरिक अवैध ढंगले नेपाल प्रवेश गर्दै आएका छन। मावन तस्करको गिरोहले टर्कीको इस्तानबुलमा बसेर सिरियाली, इरानीलाई नेपालको बाटो हुँदै युरोपी मुलुक छिराउने प्रयत्न गर्दै आएका छन्।
नेपालको अध्यागमनमा बायोमेट्रिक्स प्रणालीसहितको सफ्टवयेर नभएको फाइदा उठाउँदै मावन तस्करले युरोपेली मुलुक छिर्न नेपाललाई ट्रान्जिटको रुपमा प्रयोग गर्दै आएका छन्। कतिपय अध्यागमनका अधिकृतले राहदानी चिन्न नसक्दा पनि समस्या बनेको छ।
राहदानी सक्कली वा नक्कली हो भन्ने छुट्याउन नसक्दा नक्कली राहदानी वहाक विदेशीले सहजै आगमन र प्रस्थान अनुमति पाइरहेका छन। नक्कली राहदानी बहाक सिरियाली, इरानीलगायत मुलुकका नागरिकलाई अध्यागमनका अधिकारीले आगमन र प्रस्थान अनुमति दिएका उदाहरण छन्। अर्को मुलुकले उनीहरुलाई नेपाल फर्काएपछि मात्र नक्कली राहदानीमा आफूहरुले छाप हानेको अध्यागमनका अधिकारीले थाहा पाउने गरेका छन्।
अन्नपूर्ण पोष्ट