Home > Blog > नेपाली काँग्रेसको निर्देशिका पारित

नेपाली काँग्रेसको निर्देशिका पारित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको निर्देशिका पारित गरेको छ।

नेपाली काँग्रेसको आईतबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको विभिन्न तहको कार्य समिति समायोजन गर्ने गरी पार्टीको निर्देशिका सर्वसम्मतिले पारित गरेको हो।

साविकको कार्य समितिलाई नै समायोजन गर्ने गरी वडा तहसम्म पनि संघीय ढाँचा अनुसारको कार्य समिति गठन हुने गरी पार्टीको निर्देशिका पारित गरिएको काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

त्यसका लागि सबै जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन प्रणालीले प्रतिनिधि खटाउनेछ। सहमहामन्त्री महतले भदौ २० गते भित्र प्रतिनिधिसभा तथा प्रदेश सभाको क्षेत्रीय कार्य समिति समायोजन गरी सक्ने र कार्तिक महिनाभित्रै सबै कार्य समिति समायोजन गरी सक्ने निर्णय पनि गरिएको बताए।

नेपाली काँग्रेसले निर्वाचनमार्फत सबै कार्य समिति निर्माण गर्न समस्या भएको निष्कर्ष निकाल्दै सो समस्या समाधानका लागि साविककै समितिहरुलाई मिलाएर समायोजना गर्ने गरी निर्देशिका बनाएको हो।

यस्ता छन् बैठकका निर्णयहरु

१. नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ। यस निर्णयलाई पार्टीको आगामी महासमिति÷महाधिवेशनमा पेश गरी अनुमोदन गराइनेछ।

२. नेपाली कांग्रेस पार्टीका तर्फबाट खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिका वडा नं १ को खुला वडा सदस्य पदमा निर्वाचित बैजनाथ रिजाल २०७६ साल अषाढ २० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरी नेपाली कांग्रेस पार्टी परित्याग गरेकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३१ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम निज निर्वाचित भएको वडा सदस्य पद स्वतः रिक्त हुने भएकोले, सम्बन्धित मन्त्रालय तथा निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गर्दछ।

३. इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘ईद उल जोहा’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं स्मृद्धिका लागि कार्यसमितिको यो बैठक शुभकामना प्रकट गर्दछ।

४. विगत केही दिनदेखि अस्वस्थ भई उपचारार्थ अस्पताल भर्ना भएका नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिंहको शीघ्र स्वास्थ्य लाभको यो बैठक कामना गर्दछ।

५. सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबस श्रावण २४ धादिङको वेनीघाट नजिक त्रिुशली नदीमा खस्दा धेरैको मृत्यु र त्यसमा सवार कतिपय यात्रु वेपत्ता तथा गुल्मी र बझाङमा भएको सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यसमितिको यो बैठक गहिरो दुःख प्रकट गर्दछ। साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्दछ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ श्रावण २९ गते दिउँसो १ बजे पुनः बस्ने जनाइएको छ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1