काठमाडौं। प्रमुख प्रतिपक्षी तथा देशको सबैभन्दा पुरानो दल हो काँग्रेस । तर, यो पार्टी संरचनाहरु भने अझै पनि राज्य पुनःसंरचनाअनुसार बन्न सकेका छैनन्।
गएको माघमा भएको पार्टीको महासमिति बैठकले नयाँ विधान पारित गरे पनि सो विधानअनुसार पार्टीका संरचनाहरु बनेपछि हाल काँग्रेसमा अन्तरिम संरचना बनाउने बहस चलिरहेको छ । पार्टी केन्द्रीय समितिको बैठकमा यही विषयमा छलफल जारी छ । मुख्य त दुई गुट तथा अर्को गुट कृष्ण प्रसाद सिटौलाको काँग्रेसमा प्रभावी छ । जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता सिटौला समूहले अन्तरिम संरचनाबारे फरक फरक धारणाहरु राखिरहेका छन्।
सभापति देउवाले बुधबार बैठकमा आफ्नो धारणा राख्नेक्रममा अन्तरिम संरचना र पार्टीको आगामी महाधिवेशन छिटै गराउनुपर्ने बताए। उनले कुनै मिति भने तोकेनन्। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आगामी असोजसम्म अन्तरिम संरचना बन्नुपर्ने धारणा राखे। उता सिटौलाले भने महाधिवेशन र अन्तरिम संरचनाबारे स्पष्ट प्रस्ताव ल्याउन भन्दै मितिमा अल्मलिने कुरा ठिक नभएको बताए ।
पार्टी उपसभापति विमलेन्द्र निधीले आगामी पुससम्म अन्तरिम संरचना बनाउन सकिने बताए ।
गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, धनराज गुरुङ, शंकर भण्डारीले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
देश संघीयतामा जानुभन्दा अघिका संरचनाकै आधारमा काँग्रेस चलिरहेको छ । हाल काँग्रेसको प्रदेश समिति, प्रदेश निर्वाचन क्षेत्रीय समिति, स्थानीय तह स्तरीय समिति र वडा समिति छैनन्। अन्तरिम व्यवस्था गरेर यी समिति बनाउनुपर्ने काँग्रेसमा बहस चलिरहेको छ । तर, यस्ता संरचना बनाउँदा आफ्नो समूहलाई फाइदा पुग्ने गरी निर्माण गर्ने पक्षमा तीनै समूह लागिपरेका छन्।
डिसी नेपाल





