ताप्लेजुङ । सुकेटार विमानस्थलमा असारदेखि उडान हुनसकेको छैन । हरेक वर्ष बर्खामा उडान ठप्प हुँदैआएको सुकेटार विमानस्थलमा यस वर्ष असार ४ गतेदेखि मौसम खराबीका कारण उडान हुन सकेको छैन।
मौसम खराब भएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगमका स्टेशन इञ्चार्ज राजु कार्कीले बताए । जेठ २९ गतेसम्म नियमित उडान भएकामा त्यसयता असार ४ गते मात्रै उडान भएको थियो। असार ४ गते काठमार्डौँबाट यात्रु लिएर आएको जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रु नलिई फर्किएको थियो । त्यसयता जहाजले उडान भरेको छैन । “मौसममा सुधार आएपछि मात्रै उडान हुने छ”, उनले भने।
सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार उडान भर्ने गरेको थियो। मौसम खराबीका कारण उडान स्थगित गरिएको भनिए पनि निगमले स्थगित गरिएको सम्बन्धमा सूचना निकालेको छैन।
लामो समयदेखि उडान नहुँदा यात्रु मारमा परेका छन्। बर्सेनी मौसम खराबीका कारण उडान ठप्प हुँदै आए पनि यसको विकल्पका बारेमा कतैबाट चासो नभएको स्थानीयवासीको गुनासो छ। बिरामीलाई उपचारका लागि काठमाडौँ लगायत ठाउँ लैजानु परे वा आकास्मिक काम आइपरे महङ्गो भाडा तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ।
रासस





