कार्यक्रमको फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
लण्डन– २५औं विश्व आदिवासी जनजाती दिवसको अवसर पारेर २७ जुलाई शनिबारका दिन नेपाली दूतावास लण्डनले एक विशेष कार्यक्रम “नेपाल म्युजिक एण्ड फुड फेष्टिभल” को आयोजना गरेको थियो । नेपाली दूतावास लण्डनको आयोजना तथा आदीबासी जनजाती महासंघ यूकेको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले प्रवासी भूमीमा नेपाल र नेपालीको कला, संस्कृती, परम्परा र मौलिकतालाई झ्ल्क्याउन सफल भएको थियो । कार्यक्रमस्थलमा प्रेवेश गरेपछि देखिने नेपाली रहनसहन र नेपाली परम्परा संस्कृतिले नेपालको झल्को मेटाउन सफल भएको थियो । सायद नेपाली दूतावासको आयोजनामा गरिएको यस्तो कार्यक्रम विश्वमा नै पहिलो नमूनाको रुपमा हुनसक्छ ।
बेलायतका लागि नेपाली राजदूत डा. सुवेदी, फिलिपिन्सका राजदूत र चर्चित गायक दीप श्रेष्ठद्वारा पानसमा बती बालेर कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो । कार्यक्रममा बेलायतका विभिन्न स्थानहरुबाट विभिन्न संघ संस्थाका प्रतिनिधि, व्यवसायी लगायत थुप्रै सर्वासाधारण व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपाली भेषभूषा तथा कला संस्कृतिको जगेर्ना एवं प्रबर्धन गर्ने उद्देश्यले विभिन्न खालका झाँकी तथा मौलिक नृत्यहरु प्रदर्शन गरिएको थियो । कार्यक्रममा विशुद्ध नेपाली पारिकारहरु मम, चटपटे, आलु, कोदाको रोटी, फापरको रोटी, सिस्नुको परिकार, जौको काट, मकैको खाजा, ढ्कायो भट्ट, किनिमा, खुखुराको तिते लगायत घरायसी पेय पदार्थहरुको प्रदर्शन एवं वितरण गरिएको थियो । 
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले उपस्थित सबैलाई धन्यबाद व्यक्त गर्दै भावी कार्यक्रममा अझ बाक्लो उपस्थिति हुनुपर्ने धारणा राखेका थिए । नेपाल र नेपालीहरुको मौलिक पहिचान बोक्न सफल आदीवासी जनजातीले सिंगो नेपालको पहिचान दिन सफल भएको बताएका थिए । कार्यक्रममा आदिवासी जनजाती महासंघका यूके अध्यक्ष जंग सुनुवार, चर्चित गायक दीप श्रेष्ठले पनि आफ्नो धारणा राख्दै नेपाली दूतावासद्वारा आयोजना गरिएको कार्यक्रममाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा वेलायतका लागि फिलिपीन्सका राजदुत लगायत बिभिन्न देशका कुटनीतिक नियोगका प्रमुखहरुको समेत उपस्थिति रहेको । राजदूत सुवेदीद्वारा फिलिपिन्सका राजदूतलाई स्वागत सम्मान गर्दै खुकुरी र भिजिट नेपाल लोगो अंकित कप उपहारस्वरूप प्रदान गरिएको थियो । तेस्तैगरी चर्चित गायक दीप श्रेष्ठलाई पनि सम्मान गर्दै उपहार प्रदान गरिएको थियो । विश्व आदिवासी जनजाती दिवसको अवसर पारेर नेपाली दूतावासद्वारा पहिलो पटक आयोजना गरिएको ‘नेपाली म्युजिक तथा फुड फेस्टिभल’ मा जनजाती महासंघ युकेका पूर्वअध्यक्षहरु श्री लिम्बु, तुल छन्त्याल र वर्तमान अध्यक्ष जग्गं सुनुवार लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कुलेन्द्र बिक, सुनिता परिवार, भूमिका शाह, पवन आले, प्रीति आले, सिवी राई, चोक गुरुगं, मधुसुधन थापा, तारा लक्छम, प्रनेश लिम्बु, सोनहंग राई, थिर थापा लगायतका कलाकालहरुले आआफ्नो प्रस्तुति दिए । कार्यक्रमस्थलमा विभिन्न नेपाली परिकारहरुको साथमा नेपाली सामग्रीहरु पनि प्रदर्शन गरिएका थिए । कार्यक्रमको संचालन नेपाली दूतावास लण्डनका प्रवक्ता शरद आरणले गरेका थिए । कुलेंद्र बिकको ‘सालको पात’ बोलको चर्चित गीतमा राजदूत सुवेदी लगायतले जोडदार नृत्य गर्दै म्युजिक फेष्टिभललाई सार्थकता तुल्याएका थिए । तेस्तैगरी विभिन्न गीतसंगीत र नृत्यको प्रदर्शनले दूतावास परिसरलाई नेपालकै सेरोफेरोमा भएको महशुस गराएको थियो । 





