गोर्खा अनलाइन रेडियो यूके,
आज २५ जुलाईका दिन बेलायतको तापक्रम इतिहाँसकै उच्चतम विन्दुमा पुग्ने यहाँको मौसम पूर्वानुमान शाखा मेट अफिसले जनाएको छ । प्राप्त जानकारी अनुसार आजको तापक्रम ३९ डिग्री सेल्सियस सम्म पुग्ने बताइएको छ । यस अघि सन् २००३ मा बेलायतको केन्ट शहरमा सबैभन्दा उच्च तापक्रम ३८.५ डिग्री तापक्रमसम्म पुगेको थियो भने सन् २०१५ को जुलाई महिनामा हिथ्रो एअरपोर्टमा ३६.७ डिग्री तापक्रम निर्धारण गरिएको थियो ।
आजको तापक्रमले सन् २००३ को रेकर्डलाई पछि पार्ने मेट अफिसले बताएको छ । यहाँका केहि रेल कम्पनीहरुले यात्रुहरुलाई अनावश्यक यात्रा नगर्न अनुरोध गर्दै सक्दो सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रशस्त रुपमा पानी पिउन, सन् क्रिमको प्रयोग गर्न र शितल छहारीमा बस्न समेत पब्लिक हेल्थ इंग्ल्याण्डले अनुरोध गरेको छ । हुन् त बेलायातवासीहरुले तापक्रम वृद्धिलाई सकारात्मक रुपमा नै लिने गर्दछन । गर्मी बढेको अवस्थामा घरमा बसेर हैन सामुन्द्रिक किनारमा गएर रमाउने गर्दछन ।
अत्यधिक गर्मिको समयमा यहाँका समुन्द्रका किनारहरुमा स्थान पाउनको लागि धौ धौ हुने गर्दछ । वर्षमा केहि महिना समरको सिजन हुने र प्राय यहाँको मौसमको कुनै ठेगान नहुने हुँदा कहिलेकाही हुने अत्यधिक गर्मीलाई पनि उत्सवको रुपमा लिने प्रचलन छ । विशेषगरि बृद्ध तथा केटाकेटीहरुले बढि ध्यान पुर्याउनुपर्ने हुन्छ ।





