बेईजिङ । चीनको दक्षिणपश्चिमी क्षेत्रमा पहिरोमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार गुईझोउ प्रान्तमा मङ्गलबार अबेर आएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो।
उनीहरुले स्थानीय समयानुसार बेलुका ९.२० बजे लिउपान्शुईको गाउँमा पहिरो पसेको बताएका छन्। पहिरोले २१ घर पुरेको छ। प्रभावित क्षेत्रमा पहिरो खसेको बेला ५० भन्दा बढी मानिस रहेको उद्धारकर्ताहरुले जानकारी दिएका छन्।
उद्धारकर्ताहरुले बुधबार बिहान ११ बजेतिर ११ जनाको शव भेट्टाएका थिए। अरू ११ जनालाई जीवितै उद्धार गरिएको र ३४ जना अझै बेपत्ता नै रहेको अधिकारीहरुले जनाएका छन्। बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्ताहरुले बताएका छन् । घटनास्थलमा मन्त्रालयबाट खटिएको र स्थानीय सरकारले खटाएकाहरुले मिलेर काम गरेका छन्।
आपत व्यवस्थापन मन्त्रालयले पहिरो गएको थाहा पाउने बित्तिकै उद्धारकर्ताहरुको टोली घटनास्थलमा पठाइएको थियो।बेपत्ता भएकाहरुको खोजीका लागि व्यावसायिक उद्धारकर्ता, अग्नी नियन्त्रक, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरीलगायत गरी एक हजार जना घटनास्थलमा खटिएका छन्।
रासस





