पोखरा : पर्यटकीय नगरी पोखरामा साउनको पहिलो सोमबारदेखि बोलबम धार्मिक यात्रा सुरु भएको छ। साउनको प्रत्येक सोमबार बिहानै पोखराको बगरस्थित सेती नदी किनार गाईघाटमा स्नान गरी नदीबाट जल लिएर जल चढाउन विभिन्न शक्तिपीठमा भक्तालुको भीड लाग्ने गर्दछन् ।
यस वर्षको साउन महिनाको पहिलो सोमबारदेखि बोलबम धार्मिक यात्रा सुरु भएको हो। साउनको पहिलो सोमबार पोखराको गाईघाटमा बोलबम भक्तजनको ठूलो मेला लाग्ने गर्दछ।
पुरुष गेरु बस्त्र र महिला रातो, हरियो रंगको बस्त्रमा सजिएर सेती नदी किनारमा पूजा गर्छन्। तराई र भारतको विभिन्न स्थानबाट पोखरा आई व्यापार व्यवसाय गरेका भक्तजनको पनि बोलबम धार्मिक मेलामा बाक्लो उपस्थित रहेको छ।
सेनी नदी किनारमा पूजा गरिसकेपछि भक्तजन ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथपोखराको बैदामस्थित केदारेश्व महादेवमणि सेवाश्रम समितिको आयोजनामा प्रत्येक वर्ष बोलबम जलयात्रा हुँदै आएको छ।
भक्तजनले गाईघाटबाट जल लिएर ८ किलो मिटर दूरी हिँडेपछि लेकसाइस्थित केदारेश्वर मन्दिरमा जल चढाउने गर्दछन्। केदारेश्व महादेवमणि मन्दिरको आयोजनामा भएको १६ औं संस्करणको बोलबम जलयात्रामा भक्तजनको ठूलो उपस्थिति थियो । पूजा पछि भक्तजनले भजन, चुड्कामा नृत्य गरेका थिए।
गाईघाटबाट जलयात्रामा निस्केका भक्तजन पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा पुगेर शिव भगवानलाई जल चढाउने गर्दछन्। विन्ध्यवासिनी मन्दिर धार्मिक विकास समितिको आयोजनामा पनि छुट्टै कार्यक्रम गरी बोलबम जलयात्रा हुँदै आएको छ।
साउने सोमबार भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट ल्याएको जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। वर्षायाममा उर्लेर आएको सेती नदी किनारमा पुगेका भक्तजनको सुरक्षाका लागि सशस्त्र प्रहरी गण कालीका तालीम प्राप्त रेस्क्यु टिम परिचालन गरिएको छ।
अन्नपूर्ण पोष्ट





