वलेवा । बागलुङ नगरपालिका–१३ पैयूँपाटास्थित कालीगण्डकी कोरिडोरको पाँच घर जोखिममा छन् ।
करिडोर विस्तारका क्रममा बस्ती मुनिको जमीन कटान भएपछि स्थानीय कुलराज लामिछाने, खगराज लामिछाने, महेश्वर लामिछाने, कृष्णप्रसाद लामिछाने र दयाराम लामिछानेको घर पहिरोको जोखिममा रहेको जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ।
नेपाली सेनाले जिम्मा लिएको सो कोरिडोर विस्तारका क्रममा जोखिममा परेका ती परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न समितिले सिफारिस गरेको छ। प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री जोखिममा रहेकालाई सुरक्षित ठाउँमा लैजाने बताउँछन्।
ट्र्याक खोल्ने क्रममा ७.६५ मिटरको बागलुङ–नारायणस्थान खण्डको १० किलोमिटर सडकलाई अहिले नेपाली सेनाले १० मिटर चौडा बनाइरहेको छ। बागलुङ नगरपालिकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्न खर्च उपलब्ध गराउने भएको छ।
नगर प्रमुख जनकराज पौडेलले प्रतिपरिवार २५ हजार उपलब्ध गराइने बताए। पीडितहरु अहिले नजिकैको खाली घर र मन्दिरको सत्तलमा रात बिताउँदै आएका छन्।
रासस





