काठमाडौं । काठमाडौं, सप्तरी र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।
काठमाडौंको काठमाडौं महानगरपालिका २७ स्थित सडकमा रोकी राखेको ना ३ ख ७५६१ नम्बरको टिपर पछाडि बा ९२ प ६५६५ नम्बरको स्कुटर शनिबार बिहान ठक्कर खाँदा गम्भीर घाइते भएका स्कुटर चालक बुढानिलकण्ठ बस्ने ३५ बर्षीय सन्जय ठकुरीको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार कलंकी बस्ने ३० बर्षीय बिशाल लुईटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै सप्तरीको रुपनी गाउँपालिका १ स्थित सडकमा बा ४ ख ५५४२ नम्बरको टिपरले स ९ प ७९१८ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका बस्ने ४५ बर्षीय महेन्द्र मण्डलको युनिक अस्पताल रुपनीमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक खडक नगरपालिका १ बस्ने ४० बर्षीय श्रवण कुमार मण्डलको सोही अस्पतालमा उपचार भइरहेको छ। फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ।
रुपन्देहीको ओमसतिया गाउँपालिका ५ दरखसहवास्थित सडकमा लु ४ प १९७१ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक रोहिणी गाउँपालिका ३ बस्ने ३५ बर्षीय दुर्गेश पासीको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





