गोर्खा अनलाइन रेडियो यूके,
चर्चित लोकदोहोरी गायक एवं लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका गायक बद्रि पंगेनी विरुद्ध ज्यान मार्ने धम्किका कारण प्रहरीमा गरिएको उजुरीको बारेमा बद्री पंगेनीले लिखित रुपमा खण्डन गरेका छन् । आफू विरुद्धको आरोप प्रमाणित गर्न सके झुन्डिएर मर्ने धारणा समेत उनले व्यक्त गरेका छन् । निरमाया रोधी घरको आन्तरिक साजसज्जा र सजावट सँग सम्बन्धित कारोबारमा बद्री पंगेनीको नाम जोडिएको थियो ।
१६ वर्षदेखि संचालित निरमाया दोहोरी साँझमा विगत ३ वर्षदेखि नै संचालन र व्यबस्थापनको जिम्माबाट आफू अलग रहेको विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित निकायबाट नै निरमाया दोहोरी साँझमा आफ्नो संलग्नता नरहेको उल्लेख गर्दा गर्दै पनि आफूले धम्काएको भन्ने आरोप र समाचारप्रति दुख व्यक्त गरेका छन् । साथै सत्य तथ्य कुरा बुझेर मात्र समाचार सम्प्रेषण गर्न समेत सुझाएका छन् । जारी विज्ञप्तिमा भनिएको छ, यदि आफूद्वारा धम्काएको भनें आरोप प्रमाणित भएमा जस्तोसुकै कारवाही भोग्न पनि आफू तयार रहेको उल्लेख गरेका छन् ।
उनको विज्ञप्ति जस्ताको तस्तै,
मिति ०७६ /०४ /०१
विषय ध्यानाकर्षण भएको सम्बन्धमा ।
काठमान्डौ महानगरपालीका कमलादी स्थित निरमाया दोहोरी साँझ र सृष्टी फर्निचर उद्योग सितापैलाबिच्मा भएको आर्थिक लेनदेनमा समस्या उत्पन्न भएको र विभिन्न मिडियामा समेत म बद्रेई पंगेनीको नाम जोडेर चरित्र हत्या गरिएको प्रति मेरो पूर्ण रुपमा आपत्ति रहेको छ ।
१६ वर्षदेखि संचालित निरमाया दोहोरी साँझमा विगत 3 वर्षदेखि नै संचालन तथा सम्पूर्ण व्यबस्थापनको जिम्मेवारी विजय सिंह र सुवास अधिकारीलाई दिएको समेत जानकारी गराउन चाहन्छु । साथै संचालनको जिम्मेवारी लिएका व्यक्तिहरुले नै बद्री पंगेनी यहाँ संलग्न हुनुहुन्न भन्दा भन्दै पनि विभिन्न मिडियाहरुले मेरो नाम जोडेर धम्काएको भन्ने भ्रामक समाचार सम्प्रेषण भैरहेको प्रति दुख व्यक्त गर्दछु, साथै सत्य तथ्य कुरा बुझेर मात्रै समाचार सम्प्रेषण गरिदिनुहुन विनम्र अनुरोध छ ।
यदि धम्काएको प्रमाणित भएमा जस्तोसुकै कारवाही भोग्न तयार हुदैं आवश्यक परेको खण्डमा स-प्रमाण सम्बन्धित ठाउँमा उपस्थित हुने प्रतिवद्धता व्यक्त गर्दै यो विषयमा विशेष ध्यानाकर्षण रहेको छ । यदि आवश्यक परेको खण्डमा यो समस्या समाधानको लागि समन्वयकर्ताको भूमिका निर्वाह गर्न समेत तयार रहेको छु ।

बद्री पंगेनी





