गोर्खा नालाइन रेडियो यूके,
रौतहट जिल्लाको गैंडाटारमा नेपालकै सबैभन्दा अग्लो १३२ फिट उचाइको बौद्ध स्तुपा निर्माण हुने भएको छ । निर्माणाधिन बौद्ध स्तुपा स्थलको कुल क्षेत्रफल १० बिघा ६.६० हेक्टर रहेको छ भने स्तुपाले मात्र ओगट्ने क्षेत्रफल २.३३ हेक्टर रहेको छ । गत बैसाख ६ गते शिलान्यास कार्यक्रम सम्पन्न भएपछि स्तूपाको निर्माण कार्य अगाडी बढेको छ । प्रमुख अतिथि प्रदेश नं २ रौतहट क्षेत्र नं ४ का सङ्घीय संसद श्री देवप्रसाद तिमिल्सिनाद्धारा शिलान्यास गरिएको उक्त ऐतिहासिक स्तूपा निर्माण अभियान कार्यक्रम शुरु भए लगत्तै बिभिन्न संघ संस्था तथा देश बिदेशमा रहनुभएका नेपालीहरुद्धारा देखाउनु भएको सहयोग र सदासयताले यसको महत्व र गरिमा अझ बढेको छ ।
बौद्ध स्तुपा निर्माणको लागिमात्र लाग्ने लागत खर्च २ अर्ब ५० करोड रहेको छ । अन्य पूर्वाधारहरू निर्माणका लागि लाग्ने लागत खर्च रु २ अरब ५० करोड रहेको छ । कुल लागत ५ अरब रहेको उक्त आयोजनाको अवधि ५ वर्षको हुनेछ । बौद्ध स्तुपा निर्माणबाट र गैंडाटारलाई पर्यटकीय क्षेत्र बनाउन एवं विकास निर्माण,उध्योग कलकारखाना तथा अन्य सम्भावनाको ढोकाहरु प्रशस्त खुलेका छन् । स्तुपा निर्माण अभियानमा व्यक्तिगत क्षेत्रबाट साथै सरकारी क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धताहरुपनि आएका छन् ।
धर्म भनेको मानिसको आस्थाको केन्द्र हो । स्वेच्छ्याले जुनसुकै धर्म मान्न पाउनु जो कोहिको नैसर्गिक अधिकार हो । तसर्थ स्तुपा निर्माण अभियानमा कुनै पनि जात जाती भाषा भाषी नभनी सबैले ऐक्यवद्धता जाहेर गरी यस अभियानलाई अगाडि बढाउनुपर्ने सबैको समान दायित्व रहेको छ ।
सबैको लागि विशेष अवसर र चुनौती भएको यस स्तुपा निर्माण अभियानमा सरकारी निकाय,प्रदेश नं २ रौतहट क्षेत्र नं ४ का सङ्घीय संसद, स्थानीय ईकाईका पदाधिकारी,विभिन्न धर्मालम्बी,समाजसेवी,भद्रभलाद्मी,सामाजिक अभियन्ता,पत्रकार एवं बुद्धिजीवी वर्ग,देश विदेशमा रहेका नेपालीहरू सबैको हात र साथको अपरिहार्य आवश्यकता रहेको छ ।





