चितवन । बाँदरमुढे घटनाका पीडितलाई माडी नगरपालिकाले रु २५ लाख सहयोग गरेको छ।
नगरपालिकाले पीडितको आयआर्जनमा वृद्धि गर्न सहयोग पुगोस् भनेर रु एक÷एक लाखका दरले पहिलो चरणमा २५ जनालाई चेक हस्तान्तरण गरेको हो।
बाँकी पीडितलाई दोस्रो चरणमा सहयोग गर्ने नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । निर्वाचनका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बाँदरमुढे घट्नाका पीडितले गरेको तीन बुँदे सम्झौता कार्यान्वयनको पहिलो प्रक्रिया शुरु भएको ढकालले बताए।
ढकालको संयोजकत्वमा सम्झौता कार्यान्वयन गर्न बनेको समितिले पीडितको आर्थिक, सामाजिक, पारिवारिकलगायत अवस्थाबारे स्थलगत प्रतिवेदन तयार गरी पार्टी अध्यक्ष दाहाल समक्ष पेश गरी केन्द्रबाट गर्नुपर्ने कामको बारेमा सिफारिस गरेको थियो।
सोहीअनुसार बाँदरमुढे घटनास्थलमा रु दश करोडको लागतमा उद्यानसहित मन्दिर तथा सङ्ग्रहालय बनाउने विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ। आगामी आवदेखि सो उद्यानको निर्माण शुरु गरिने बताइएको छ।
डिसी नेपाल