कञ्चनपुर। सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ। शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताए।
आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको समेत मृत्यु भएको बताइएको छ। मृत्यु हुने दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ। मृतक भट्टको शव नेपाल ल्याउनका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताए।
खैरेनीमा चरी बाघको आतङ्क
यसैबीच भीमदत्त नगरपालिका–६ खैरेनीमा केही दिनदेखि चरी बाघ (लिओपार्ड क्याट) ले आतङ्क मच्चाएको छ। बाघले गोठमा पसेर स्थानीयका बाख्रा खान थालेको छ । चरी बाघ संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरिएको जनावर हो।
खैरेनीका हिरा धानुकले केही दिनदेखि चरी बाघले गोठमा पसेर तीन बाख्राका पाठा खाइसकेको बताए। “हेर्दा रातो पाटो देखिन्छ । राति आउँछ, हल्ला गरेपछि भागेर जान्छ”, उनले भने। स्थानीयवासीका अनुसार मानबहादुर रावल र खगेन्द्रका दुई÷दुई तथा हरिना पाण्डेको एक बाख्रा खाएको छ। अन्य सात बाख्रा दाह्रा लगाएर घाइते बनाइएका छन्। जिल्ला वन कार्यालयको प्राविधिक टोलीले शनिबार स्थलगत निरीक्षण गरी चरी बाघले पु¥याएको क्षतिको जानकारी लिएको छ ।
रासस





