बिहीबारदेखि निरन्तर परिरहेको वर्षा शनिबार मध्यान्ह रोकिएको छ।
वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको अवस्था सामान्य बनेको छ।
शुक्रबार भारी वर्षासँगै आएको बाढीले काठमाडौंको जनजीवन अस्तव्यस्त बनेको थियो। शुक्रबारको बाढीले काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए।
महानगरीय प्रहरी कार्यालय(मेट्रो)का डिआइजी शैलेश थापा क्षेत्रीले पानी रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बनेको बताए।
‘पानी रोकिएसँगै पानीको सतह कम भएको छ’, उनले भने,‘अहिले उपत्यकाको अवस्था सामान्य बनेको छ। त्यस्तो चिन्ता लिनुपर्ने अवस्था छैन।’
शुक्रबारमात्र विपद उद्धारका लागि ८ हजार ७५ जना प्रहरी खटिएको उनले जानकारी दिए।





