गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस इंग्ल्याण्ड २०१९’ मा नेपाली मुलकी २६ वर्षीया युवती प्रतिष्ठा ‘तृष’ राउत सेमिफाइनलमा पुगेकी छन् । ‘मिस इंग्ल्याण्ड २०१९’ को फाइनल मरितस टुरिजम र दि गेनफोर्ड ग्रुपको सहकार्यमा यहि जुलाई ३१ तारिख र अगष्ट १ तारिखका दिन न्यूकासल अपन टाईनमा हुदैछ । उक्त दुइ दिनमा ५४ जना सुन्दरीहरुले विभिन्न १० राउन्डको लागि प्रतिस्पर्धा गर्नेछन । फाइनल राउन्डको प्रतिस्पर्धाबाट विजयी एकजना सुन्दरीले होलिडे लगायतका अन्य विभिन्न सामग्रीसहित ३० हजार पाउण्ड बराबरको पुरस्कार हात पार्नेछन । साथै आगामी डिसेम्बर १४ तारिखका दिन एक्सेल लन्डनमा हुन् गइरहेको विश्व सुन्दरी प्रतियोगीतामा पनि सहभागीता हुने अवसर पाउनेछन ।
प्रतियोगितामा विजय हुनको लागि च्यारिटी क्वीन, इको ड्रेस राउण्ड, ब्ल्याक ड्रेस राउण्ड, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङ लगायतका विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ । उनले यहि जुलाई १९ तारिखका दिन लण्डनको ह्यार्रोस्थित फुटबल क्लबमा “मिस इंग्ल्याण्ड २०१९ फाइनालिष्ट प्रतिष्ठा राउत च्यारिटी डिनर” नाइट कार्यक्रमको आयोजना गर्दैछिन । जुन च्यारिटी रकम ‘ब्यूटी विद ए पर्पोज’ हेल्पिंग चिल्ड्रेन वर्ल्डवाइड अन्तर्गत खर्च गरिने प्रतिष्ठाले बताएकी छन् । तेस्तै गरि पब्लिक भोटिंग अन्तर्गत मोबाइलबाट म्यासेज गरि भोट गर्नको लागि भोटिंग पनि खुल्ला भैसकेको छ । उनलाई भोट गर्नको लागि आफ्नो मोबाइलबाट MISS ENGLAND42 टाइप गरि 63333 मा म्यासेज पठाउनुपर्ने हुन्छ । To Donate click here.
भोटिंग गरेवापत प्रति म्यासेज ५० पेन्स चार्ज लाग्नेछ भने २४ घन्टामा एक व्यक्तिले ३० ओटा सम्म भोट हाल्न सक्नेछन । भोटिंग गर्ने अन्तिम मिति अगष्ट १ तारिख दिनको १२ बजेसम्म मात्र रहनेछ । हङकङमा जन्मिएकी प्रतिष्ठा भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मिना राउतकी एक्ली छोरी हुन् । हाल बेलायतमा बसोवास गर्दै आएकी प्रतिष्ठाले १६ वर्षको उमेरदेखि नै मोडलिंग गर्दै आएकी हुन् । युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तिर्ण प्रतिष्ठा पेशाले फ्लोर प्लान आर्किटेक्ट हुन् ।





