Home > Blog > रोपीसकेको खेतमा डोजर :असारे विकास

रोपीसकेको खेतमा डोजर :असारे विकास

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौँ । आर्थिक वर्ष सकिनै लाग्दा विकासे बजेट पनि राज्य कोषबाट ह्वात्तै घट्ने गर्छ।

केही दिनअघि मात्रै देशभरीको विकासे वजेट २७ प्रतिशत मात्र खर्च भएको एक तथ्याङ्कले देखाएको थियो। आर्थिक वर्ष २०७५÷०७६ सकिनै लाग्दा बजेट फ्रिज जाने डरले दु्रतगतिमा योजनाहरु पास गर्ने पुरानै संस्कार यो पटक पनि उस्तै देखिएको छ।
सडक सञ्जालमा जोडिएपछि मात्र विकास भएको महसुस गर्नेहरुले डोजर आतंक मच्चाएको विभिन्न समयमा समाचार माध्यममा आइरहेकै कुरा हो।

कतिपय ठाउँमा इन्जिनियरिङ्ग मापदण्ड विना नै खनिएका सडक अहिले ज्यानमारा सडकजस्तै सावित हुँदै आएका छन्। गाउँघरमा वा आफ्नो घर÷जमिन नजिक सडक पुर्याउन होडबाजी गर्ने, व्यक्तिगत स्वार्थका लागि टाठाबाठाहरुले आफूले चाहेको ठाउँमा सडक बनाउने प्रवृतिले दिगो रुपमा सडक सञ्जाल नै खतरामा पर्ने निश्चित देखिन्छ।

यहीबीचमा बझाङ्गको खप्तड छान्ना गाउँपालिकामा पनि बजेट फ्रिज जाने डरले दु्रत गतिमा डोजर लगाएर जताततै सडक खन्ने क्रमम तीब्र छ।

बिप्रालेकदेखि थामलेकसम्म करिब अढाइकरोडमा बजेटमा स्काइभेटर लगाएर विभिन्न उपभोक्ता समिति गठन गर्दै ठाउँठाउँमा डोजर लगाएर आएको बजेट फ्रिज जान नदिने गरी सडक खनिदै छ।

खप्तड छान्ना गाउँपालिका ५ मतुवा बारादेखि वडा नं ७ गडरायसम्मको सडक खन्ने जिम्मेवारी पाएको लम्तडा–गडराय–थामलेक–रिङ्गरोड बाहिरी चक्रपथ उपभोक्ता समितिले पनि करिब १९ दिनमा सडक खनिसक्ने योजना बनाएको उपभोक्ता समितिले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको बजेट आएको भन्ने जानकारी पाएपछि लम्तडा–गडराय–थामलेक–रिङ्गरोड बाहिरी चक्रपथ उपभोक्ता समितिले जेठ १० गते सम्झौता गरेको समितिका सचिव डण्डीराज जोशीले बताए। सम्झौता भएपछि आएको बजेट फ्रिज जान नदिनका लागि बिभिन्न प्रक्रिया मिलाएर असार ३ गते मतुवाँको बारादेखि गडरायसम्मको रुटको उद्घाटन गरेको सचिव जोशीले बताए।

उनले भने, ‘४ पटकसम्म सडक सर्भे भैसकेपछि बजेट फ्रिज जानुभन्दा काम दु्रतगतिमा अगाडि बढाउनु पर्छ भनेर सुरु गरेका हौं।’ अबको ३ दिनभित्र मतुवा–गडराय सडकको बाँकी काम सक्ने उनको दाबी छ। यता स्थानीयहरुले भने अनावश्यक रुपमा टाठाबाठाहरुले सडकमा बजेट पोखेर किसानको पसिनामा डोजर चलाएको भन्दै आक्रोस पोखेका छन्।

खप्तड छान्ना गाउँपालिका ६ का स्थानीय ईश्वर आग्रीले भने, ‘विकासका नाममा रोपाँई गरिसकेका खेतमा डोजर चलाई कृषकले मानो रोपी मुरी फलाउने समयमा किसानको पेटमा छुरा प्रहार गरिएको छ। आकाशे पानीको भरमा नै रोपाँई हुने ‘अगासे’ जिउलोमा केही समयदेखि टाढाबाट ल्याइएको पाइलाइनको सहायताले रोपाई गरिन्थ्यो।’

डिसी नेपालसंग कुरा गर्दै आग्रीले भने, ‘जागासैन हुँदै आउने खानेपानीका पाइपलाइन तथा अगासे सिँचाई कुलोको पाइप समेत पूर्ण रुपले छेदविच्छेद गरी भत्काइएको छ।’ जसले गर्दा सयौं कृषकहरु मर्कामा परेको उनले बताए।

किसानले रोपेको खेतमा डोजर चलाएको विषय उपभोक्ता समितिले भने सामान्य रुपमा लिएको छ। लम्तडा–गडराय–थामलेक–रिङ्गरोड बाहिरी चक्रपथ उपभोक्ता समितिका सचिव जोशीले डिसी नेपालसँग भने, ‘यो त भरखर रोपेको हो, अघिल्लो वर्ष कालुखेती–गडराय सडक खन्ने बेलामा किसानको पाक्नै लागेको बाली समेत नै नस्ट भएको थियो। सडक बनाउँदा यत्तिको त भैहाल्छ नी।’

प्रदेश सरकारले विनियोजन गरेको बिप्रा–थामलेक सडक खण्डका लागि करिब अढाई करोड बजेट मध्ये मतुँवादेखि गडरायसम्मका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। बिप्रा–खत्रीवाडा–दारुगाउँ–मतुँवासम्ममा करिब डेढ करोड बजेट विनियोजन गरिएको थियो।

प्रदेशले बजेट दिएको सडक खण्डको विषयमा भने गाउँपालिका अनविज्ञ छ। खप्तड छान्ना गाउँपालिकाका कार्यकारी अधिकृत जय बहादुर थापाले भने, ‘हामीलाई कसैले पनि जानकारी गरेन। बजेट आए नआएको पनि हामीलाई जानकारी छैन। हामीसंग कुनै उपभोक्ताले पनि समन्वय नगरेको हुँदा हामीलाई बिप्रा–थामलेक सडकको बारेमा केही जानकारी छैन।’
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1