काममाडौं। महालेखापरीक्षक टंकमणि शर्माले राज्यले दिएको जिम्मेवारीलाई आग्रह पूर्वाग्रह नराखी दृढतापूर्वक पालना गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
आइतबार राजधानी काठमाडौंमा महालेखापरीक्षकको कार्यालयको ६१ औ बार्षिकोत्सव कार्यक्रममा उनले अरुको दोष र खोट देखाउने भएको आफू चोखो हुनुपर्ने तर्फ सचेत हुन कर्मचारीको ध्यानाकर्षण गराएका हुन्।
उनले आग्रह पूर्वाग्रहमा पर्दा प्रतिवेदन नै गलत ठहरिने भन्दै त्यसतर्फ सचेत र जिम्मेवार बन्न कर्मचारीलाई निर्देशन दिए। कर्मचारीका स्वभाविक कमिकमजोरीलाई आफूले सधै जिम्मेवारी लिँदै आएको भन्दै उनले नियतबस गरिने गल्तीको दोषी स्वयम हुनुपर्ने बताए।
उनले भने, ‘हामी अरुको दोष र खोट देखाउने जिम्मेवारीमा भएकाले आफू चोखो रहनुपर्छ । संपरीक्षण गर्दा आग्रह पूर्वाग्रह गर्नुहुँदैन। नतिजा वस्तुगत हुनुपर्छ। नलेख्नु पर्ने कुरा लेखेको, लेख्नुपर्ने कुरा नलेखेको अनि गलत प्रतिवेदन ठहरिन्छ। यस्तोमा कहिलेकाही हाम्रा कर्मचारीहरु पनि दोषी हुन् कि भन्ने आशंकाहरु आउछ । त्यसमा ध्यानाकर्षण गराउन चाहन्छु।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले महालेखा परीक्षकको कार्यालयलाई दीगो विकास लक्ष्यका १७ सूचकांकको पनि लेखा परीक्षण गर्ने जिम्मेवारी दिइएको जानकारी गराए।
उनले राज्यका सबै संयन्त्र विकेन्द्रीकृत भएपनि महालेखापरीक्षकको कार्यालयले अहिले सम्म केन्द्रीय ढंगले काम गर्दै आएकाले औपचारिकतामा मात्रै सिमिति नभई वर्तमान परिपेक्ष्यमा औचित्य, मितव्ययीता र प्रभावकारीतालाई पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याए।
डिसी नेपाल





