प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रा काम गर्दै गएको बताएका छन्।
काठमाडौंलगायत देशभर एक हजार किलोमिटरभन्दा धेरै सडक कालोपत्रे गरिएको, कानुन निर्माण गरेको र लोकतन्त्रको रक्षा गर्दै सरकार अघि बढेको उनले बताए।
सरकारप्रति जनताले गरेका विश्वास डगमगाउन नदिने उनले बताए।
‘भ्रष्टाचार गर्न दिन्नँ, म पनि गर्दिनँ,’ मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले भने, ‘सुशासन कायम गरिन्छ। संविधान कार्यान्वयन र मौलिक हक सुनिश्चित गर्न कानुन बनाइएको छ।’
उनले सरकारप्रतिको आलोचना कम हुँदै गएको र आउँदो दसैंसम्म आलोचना समाप्त भइसक्ने दाबी गरे।
‘काठमाडौंमा मास्क लगाएर हिँड्ने कोही भेटिँदैन,’ उनले भने, ‘सडक कालोपत्रे गरेका छौं, धुलो हटाएका छौं। दसैंसम्म पुग्दा सरकारमाथिको आलोचना समाप्त हुन्छ।’
आफूले प्रधानमन्त्री बन्दै गर्दा काठमाडौंको धुलो नियन्त्रण गर्ने र नाक थुनेर हिँड्नुपर्ने बाध्यता पूर्ण रूपमा अन्त्य गर्ने बाचा गरेअनुसार नै काम गरेको प्रधानमन्त्रीको भनाइ छ।
‘हामी दुई अध्यक्ष कुरो नबुझिकन अघि बढेको छैन,’ उनले भने, ‘गतवर्ष निकै आलोचना भयो वृद्धभत्ता बढेन भनेर। यसपालि बढायौं, प्रशंसा भएन। रकम छरियो भनेर आलोचना गरिदिए।’
सेतोपाटी





