“दुःखीको घरमा मात्र तेरो वास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।”
साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसंग ठ्याक्कै मेल खान्छ म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी चाउनेकी ७० बर्षीया घमिष्टा भण्डारी र उनका दाजु चन्द्रवहादुर भण्डारीको जीवन कथा । कविताको हरफले त मुकुन्द इन्दिराको घर त रैछ भन्ने अर्थ दिएको छ, तर भण्डारी दाजु बहिनीको त घर समेत नहुँदा अर्काको गोठमा दाउराको सिरानी र परालको सिरक ओडेर बाँच्नु पर्ने बाध्यता रहेको छ । भण्डारी दाजु बहिनी विगत पाँचबर्षदेखि पशुचौपायालाई बनाइएको गोठमा बस्दै आएका छन् ।
भत्किने अवस्थामा रहेको गोठभित्र रहेको पराललाई ओड्ने सिरक, बनजंगलबाट ल्याएको दाउरालाई सिरानी बनाएर उनीहरु सुत्छन् । गोठभित्र कुनामा रहेको अगेना मुस्किलले दुईचारदिनमा एकपटक बोल्छ । पुराना भाडाँकुडा चुहिने अवस्थामा छन भने एकछाक पकाउने चामल समेत छैन् । छिमेकीले पकाएर दिएको भातकै भरमा रात कटाउने गरेका दाजुबहिनीले पेटभरी भात खान पाउनुलाई नै अहोभाग्य ठान्छन ।
गाउँकै विपन्न भण्डारी दाजुबहिनीलाई स्थानीय धनवती गिरीले पशुचौपाया राख्ने गोठमा आश्रय दिनुभएको छ । गर्मी मौसममा नजिकै पशुचौपाया भएकाले पनि लामखुट्टेबाट जोगिन आगो बाल्ने गर्छन भण्डारी दाजु बहिनी । ‘खानेकुरा केही छैन्,‘बस्ने बास छैन, दाई विरामी छन्’ गोठमा प्रवेश गर्ने वित्तिकै घनिष्टाले भने । उनले एकसातादेखि बनजंगलबाट ल्याएको तरकारी र गाउँबाट मागेर ल्याएको भात खाएको बताउँदै विरामी दाइलाई उपचार गर्ने पैसा समेत नभएको बताइन । गोठभित्र सुत्ने र खाना पकाउने भन्दा पनि पराल, पुराना कपडा र दाउरामै रात विताउने गरेपनि विहानै गाउँलेको काममा निस्किएर बेलुकी केही खानेकुरा ल्याउने गरेको स्थानीय धनवती गिरीले जानकारी दिए ।‘अलपत्र अवस्थामा मैले बस्ने ठाउँ दिएको छु,‘मेरो पनि आर्थिक अवस्था कमजोर नै भएकाले उनीहरूलाई आवश्यक केही सहयोग गर्न सकेको छैन’ उनले भने ।
बि।सं २०७२ बैशाखमा गएको भूकम्पमा चर्किएको गोठमा बस्न बाध्य भण्डारी दम्पत्तीलाई बाह्ै महिना समस्या हुने गरेको स्थानीयको भनाई छ । ‘न्यानो लुगा र बाक्लो सिरक ओढ्ने सपना जस्तै छ,‘छेउमै पशुचौपायाको गोठ भएकाले गर्मी महिनामा पनि रात काट्न मुस्किल हुन्छ’ घमिष्टाको भनाई उद्धित गदैं एक स्थानीयले भने । घमिष्टाका दाजु नशा र शरीर दुख्ने समस्याका कारण हिँडडुल गन सक्दैनन । भोक लागेर चिच्चाउन थालेपछि स्थानीयले समेत केही खानेकुरा दिने गरेका छन् । पशुसरह जीवन जिउन बाध्य भण्डारी दाजुबहिनीलाई सानो बस्ने घर र सम्मानयूक्त जीवन स्थापित गर्न स्थानीयले सहयोगको याचना गरेका छन् । खान , बस्न र बाँच्न पाउने अधिकारबाट समेत बन्चित भएका भण्डारीलाई तत्काल गोठबाट सुरक्षित घरमा सार्न, खाद्यान्न र लत्ताकपडाको आवश्यकत देखिएको छ ।
जनमञ्च





