काठमाडौं । काठमाडौँको ढल्कुबाट गैँडाको खागसहित तीन जना पक्राउ परेका छन्।
बुधबार दिउँसोको समयमा ५५ लाखमा खाग बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँ महानगरपालिका १७ ढल्कुबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
पक्राउ पर्नेमा गोरखा घर भई ढल्कुमा डेरा गरी बस्ने ५३ वर्षीय लालबहादुर गुरुङ, मकवानपुर गढी गाउँपालिका– २ घर भई धादिङ महादेवबेंशी बस्ने ३३ वर्षीय अष्टबहादुर थिङ र सोही ठाउँका ३४ वर्षीय गोविन्द मोक्तान रहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
महानगरीय प्रहरीवृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले लालबहादुरको कोठा खानतलासी गर्दा गैँडाको खाग, सेतो सिसाको, पत्थरसमेत बरामद गरेको थियो।
यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६ बाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
पक्राउ पर्नेमा बाराका राजु लामा र दिनेश चौधरी रहेका छन्। उनीहरुको साथबाट लागुऔषध दर्जनौँ चक्की फेला परेको छ।
डिसी नेपाल





