गोर्खा अनलाइन रेडियो यूके,
‘गलबन्दी’ बोलको लोकगीतलाई लिएर गायकहरु शम्भु राई र प्रकाश सपूतबीचको विवादको अन्त भएको छ । पछिल्लो समयमा अत्यन्त लोकप्रिय बनेको ‘गलबन्दी’ बोलको गीतलाई आफ्नो लयसंग मिलेको भनेर शम्भु राईले विरोध गरेका थिए । तर अहिले आएर ‘गलबन्दी’ गीतमा क्रिएसन शम्भु राई, रिक्रिएसन प्रकाश सपूत राख्ने सहमति ४ बुंदे भएको छ ।
सहमति भएका बुंदाहरु यसप्रकार छन् सुन्नुहोस ।
[embedyt] https://www.youtube.com/watch?v=2QTEqOsYrNE[/embedyt]
१ प्रकाश सपुतको लोक दोहोरी गीत ‘गलबन्दी बोलको गीतको लय र संगीतको नाम सन्दर्भमा छलफल हुँदा शम्भु राईबाट विगतमा प्रकाशित भएको देउसी भैलो गीतमा रहेको “आउ नाचौं साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताउ हाँसेर” भन्ने लयसँग प्रकाश सपुतद्वारा प्रकाशित ‘गलबन्दी’ बोलको गीतको गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर” भन्ने अंशमा लय मिल्न गएको देखिएकोले लोक दोहोरी गलबन्दी बोलको गीतको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपूत हुनेगरी यु ट्युवको हकमा प्राविधिक रुपमा मिल्नेसम्म शम्भु राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोहि बमोजिम नाम समावेश गरी ‘गलबन्दी” बोलको गीतलाई प्रकाशन गर्ने ।
२ गलबन्दी गीतको हालसम्मको तथा अब उप्रान्त समेत कुनै पनि माध्यमबाट यु ट्युव लगायत अन्य डिजिटल माध्यमद्वारा प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार तथा श्रष्टा, उत्पादक, प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सपुतकै अधिकार रहने र शम्भु राइले कुनै पनि आर्थिक अधिकार एवं प्रतिलिपि अधिकारमा दाबी नगर्ने साथै अन्य कुनै पनि डिजिटल प्लेटफर्महरुले उक्त गीतको संगीत मिल्न गएको भनि दावी गरेमा सो समस्यालाई दुवै पक्षले सहजीकरण गर्ने ।
३ शम्भु राइले यस ‘गलबन्दी बोलको गीतको सन्दर्भमा मिति २०६।०३।०५ मा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा तथा अन्य संघ संस्था निकायमा दिनु भएको निवेदनलाई यसै सहमतीका आधारमा फिर्ता तामेलीका लागि समेत निवेदन दिने ।
४ विभिन्न समाजिक संजाल तथा संचार माध्यमहरुमा आएका र आउने तथा आउन सक्ने भ्रमित विषयवस्तु र समाचारहरुलाई यसै सहमतीको विषय समावेश गरी खण्डन हुने तथा सहमतीको जानकारी गराउने गरी प्रेस विज्ञप्ती जारी गर्ने साथै अबका दिनमा दुवै पक्षले यस विषयमा असहमतीका कुराहरु, नगर्ने समेत सहमती भयो । सहमतिमा सांगीतिक क्षेत्रसंग सम्बन्धित विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।





